प्रदेश १ को साझा नाम सहमतिका आधारमा टुंग्याउन एमालेले सुरु गर्यो पहल
बिराटनगर।नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रदेश १ को नामकरण यही अधिवेशनले टुंग्याउने गरि सहमति भएको छ।

एमालेले बनाएको नामकरण सहजीकरण तथा समन्वय समितिको पहलमा कांग्रेस संसदीय दलका नेता र प्रमुख सचेतकसहित बसेको बैठकले यसै अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउने सहमति भएको हो। आइतवारको बैठकले यसै अधिवेशनबाट नामको विषय टुंगो लगाउने सहमति गरेको एमाले नेता एवम् सहजीकरण तथा समन्वय समिति संयोजक हिक्मत कार्कीले जानकारी दिए।
बैठकमा एमालेका तर्फबाट सहजीकरण समिति संयोजक कार्कीसहित सदस्यहरु जीवन घिमिरे,अर्जुन राई एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी सहभागी थिए।
कांग्रेसका तर्फबाट संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूयर्माराज राई र प्रदेश सभा सदस्य लीला सुब्बासहित सहभागी थिए।
आइतवार कांग्रेससँग छलफल गरेको एमालेले भोलि र पर्सि अन्य दलहरूसँग छलफल गरि प्रदेश सरकारसँग नामकरणबारे छलफल तयारी गरेको कार्कीले बताए।
सुरुवाती छलफलमा प्रदेशको नाम यसै अधिवेशनबाट टुंगो लगाउने सहमति खोज्ने र दोश्रो चरणमा कुन नामलाई सर्वमान्य बनाउने भन्नेबारे छलफल हुने एमालेले जनाएको छ।
संयोजक कार्कीका अनुसार साझा नाम र साझा सहमतिको आधारमा प्रदेशको नामकरण पहल हुनेछ।

