गठबन्धन सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन खोजेको एमाले सांसदहरुको आरोप



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा सरकारको जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका बिषयमा बिभिन्न चर्चा हुन थालेको भन्दै यस बिषयमा सरकारले सदनमा स्पष्ट जानकारी दिनुपर्ने बताए ।

संसदमा ज्ञवालीले शेरबहादुर देउवा रक्षामन्त्री वा प्रधानमन्त्री कुन हैसियतमा अमेरिका जान लागेको हो, त्यो स्पष्ट हुनुपर्ने जिकिर गरे । दुई दिन अघि सदनमा सत्ता घटक एक दलका प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भनाई राख्नु सामान्य नभएको भन्दै उनले प्रधानमन्त्रीको आसन्न भ्रमणले आशंका उत्पन्न भएको धारणा व्यक्त गरे ।

उनले प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापन परराष्ट्र सम्बन्धसँग नभएर रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएको भन्दै आपत्ती जनाए । ज्ञवालीले कुनैपनि बहानामा नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन नहुनेमा जोड दिए ।

प्रतिनिधि सभाको आइतबारकै बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च कटौती गरियोस् भन्ने प्रस्ताव राख्दै एमालेका अर्का सांसद भीमबहादुर रावलले शक्ति राष्ट्रको सामरिक छातामा धकेलेर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार नेपाललाई द्वन्द्वग्रस्त राष्ट्र बनाउन लालायित भएको आरोप लगाएका छन् । ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण र यसै सन्दर्भमा प्रधानसेनापतिको असारमा हुने अमेरिका भ्रमणका कार्यसूची के हुन्? यसबारे सदनलाई किन जानकारी नगराएको,’, उनले भने, ‘स्टेट पार्टनरसिप प्रोग्राम अर्थात् राज्य साझेदारी कार्यक्रम, सैनिक सम्झौतामा प्रधानमन्त्रीले हस्ताक्षर र सहमति जनाउनुका लागि प्रधानसेनापतिको भ्रमण हुँदैछ। अहिले अमेरिकी सेनाका जर्नेल त्यही उद्येश्यले नेपाल आएको भन्ने कुरा के हो प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्छ।’

सांसद रावलले अमेरिकी सेनाका एशिया प्रशान्त प्रमुख चारदिने भ्रमणका लागि नेपालमा आउनुको उद्देश्य के हो भन्दै सरकारको जवाफ माग गरेका छन्। ‘नेपाललाई अमेरिक राज्य साझेदारी कार्यक्रममा हस्ताक्षर गराएर नेपालमा भित्र्याउन प्रधानमन्त्री र उहाँको पत्नीको भूमिका रहेको भन्ने समाचार आइरहेका छन्,’उनले भने,‘साझेदारी कार्यक्रममा सहमति जनाएर एमसीसी सम्झौता अनुसार नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिमा सहभागी बनाएर नेपालको असंलग्न, स्वतन्त्र परराष्ट्र नीतिको अन्त्य गर्न प्रधानमन्त्री लागिरहनुभएको भन्ने कुटनीतिक क्षेत्रले उठाइरहेको गम्भीर आशंका बारे प्रधानमन्त्रीको भनाइ के छ।’

उनले यस विषयमा सत्ताधारी दलकै एक सांसदले प्रधानमन्त्रीको भ्रमणबारे गम्भीर आशंका व्यक्त गर्दै रद्द गरियोस भनेकाले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सदनमा आएर त्यसको जवाफ दिनुपर्ने बताए। ‘अमेरिका चीन, भारत लगायत सबै राष्ट्रसंघ नेपालको हितलाई सर्वोपरी राख्दै सार्वभौम समानताको आधारमा नेपालको स्वतन्त्र परराष्ट्र नीति अनुरुप कुटनीतिक र मैत्री सम्बन्ध अगाडी बढाउनुपर्ने उपयुक्त नीतिलाई विथोल्न किन खोजिदै छ,’उनले प्रश्न गर्दै भने।

प्रतिक्रिया दिनुहोस्