थुलुङ दुधकोशी गाउँपालिका उपाध्यक्ष राई प्रदेश समन्वय परिषद सदस्यमा मनोनीत




सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिकाकि उपाध्यक्ष सबिता राई १ नं प्रदेश समन्वय परिषदको सदस्यमा मनोनीत भएकी छन्।

प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशका १४ वटै जिल्लाबाट एक–एकजना जनप्रतिनिधि मनोनीत गर्ने क्रममा उपाध्यक्ष राईलाई सोलुखुम्बुबाट समन्वय परिषद सदस्यमा मनोनीत गरेका हुन्।

प्रदेशमा मुख्यमन्त्रीकोे अध्यक्षतामा गठन हुने प्रदेश समन्वय परिषदमा हरेक जिल्लाबाट एकजना स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट मनोनीत सदस्य र प्रदेशस्थित आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुनमन्त्री पदेन सदस्य रहने कानुनी ब्यबस्था रहेको छ।सो परिषदले प्रदेश सरकार र स्थानीय सरकारबीच विकासका कामहरूमा साझेदारी गर्न, बजेट कार्यान्वयन गराउन र नीति निर्माण गराउन आवश्यक सुझाव लिने र दिने गर्छ ।

मुख्यमन्त्री राईद्वारा मनोनीत प्रदेश समन्वय परिषदका अन्य सदस्यहरुमा विराटनगर महानगरपालिका मोरङका प्रमुख नागेश कोइराला, सूर्योदय नगरपालिका इलामका प्रमुख रनबहादुर राई, ऐँसेलुखर्क गाउँपालिका खोटाङका अध्यक्ष गिरेन्द्रबहादुर राई, साल्पासिलिछो गाउँपालिका भोजपुरका अध्यक्ष दौलथकुमार कलुङ राई, खिजिदेम्बा गाउँपालिका ओखलढुंगााका अध्यक्ष गम्बु शेर्पा, उदयपुर गढी गाउँपालिका उदयपुरका अध्यक्ष मानबहादुर केप्छाकी मगर, इटहरी उपमहानगरपालिका सुनसरीकी उपप्रमुख संगीताकुमारी चौधरी, छथर जोरपाटी गाउँपालिका धनकुटाकी उपाध्यक्ष गीता गुरुङ, र मेरिङदेन गाउँपालिका, ताप्लेजुङका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङ चङवाङ रहेका छन् ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मनोनीत समन्वय समितिको पहिलो बैठकले ‘बैठक सञ्चालन कार्यविधि’ स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्