जिसस सोलुखुम्बुमा कांग्रेसको एकल कब्जा,औपचारिक घोषणा हुन भने बाँकी
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रमुखमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद निरौला निर्बिरोध निर्बाचित भएका छन्।

जिल्ला समन्वय समितिका पदाधिकारीसहित सदस्यहरुको निर्बाचनका लागि तोकिएको अवधिभित्र अन्य कुनै दलको उम्मेदवारी नपरेपछि नेपाली कांग्रेसको तर्फबाट प्रमुखमा निरौला सहितका अन्य उम्मेदवारहरु निर्बिरोध निर्बाचित भएका हुन्।
समन्वय समितिको उपप्रमुखमा टिकामाया मगर र सदस्यहरुमा नारायण निरौला,धर्मध्वज बस्नेत पेम्बा शेर्पा,सोमराज केसी,हिरामाया बिक,सितामाया बस्नेत र कमला नाछिरिङको उम्मेदवारी परेको छ।यद्यपि निर्बाचन प्रक्रियाका अन्य बांकी काम पूरा नभएका कारण उनीहरू निर्बाचित भएको औपचारिक घोषणा भने गरिएको छैन । २६ गते निर्वाचित भएको घोषणा गरेर जेठ २९ गते सपथ ग्रहण गराउने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ।
प्रमुखमा निर्बाचित निरौला जिल्लामा केन्द्रीय सदस्य आङगेलु शेर्पा निकट मानिन्छन्।शेर्पा नेपाली कांग्रेस सोलुखुम्बुको पार्टी सभापति हुंदा निरौलालाई उपसभापति मनोनीत गरेका थिए।उनी थुलुङ दुधकोशी गाउँपालिकाका स्थायी बासिन्दा हुन्।
गत बैशाख ३० मा सम्पन्न निर्वाचनमा नेकपा एमाले २, माओबादी केन्द्र १ र नेपाली काँग्रेसले ५ पालिकामा बिजयी भएका थिए।जसका कारण जिससको निर्बाचनमा कांग्रेसका उम्मेदवारहरुलाई सुबिधाजनक बहुमत हासिल गर्न कुनै समस्या थिएन।यही भएर पनि अन्य दलले आफ्नो दावी नगरेका हुन्।

