भौतिक बिकासमा सम्बन्धित निकायहरूबीच समन्वय गरेर अघि बढ्ने कामनपाको निर्णय
काठमाडौं।काठमाडौं महानगरले प्रत्येक महिनाको पहिलो सोमबार बैठक बस्ने निर्णय गरेको छ।

शुक्रबार बसेको बैठकले प्रत्येक महिनाको पहिलो सोमबार दिनको ३ बजे काठमाडौँ महानगरपालिकाको प्रमुखको अध्यक्षतामा सबै निकायहरूको व्यवस्थापन तथा कार्यकारी भूमिकामा रहेका पदाधिकारीहरूको उपस्थित रहने गरी समन्वय समितिको बैठक बस्ने निर्णय गरेको हो।
बैठकमा महानगरपालिका क्षेत्रभित्र विकास निर्माण तथा सेवा प्रवाहका क्षेत्रमा कार्य गर्ने सबै निकायहरूको व्यवस्थापन लगायतका कुरामा छलफल गरिने जनाइएको छ।
मेयर बालेन शाहको अध्यक्षतामा बसेको आजको बैठकले सम्बद्ध सबै निकायले साझा उपाय अवलम्बन गर्ने क्रममा आउनसक्ने सम्भावित कानूनी र प्रबन्धकीय पक्षहरूमा सुधार गरी कार्य सम्पन्न गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं महानगरपालिकाका उप-प्रमुख, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, सडक विभाग, मेलम्ची खानेपानी आयोजना समेतको तर्फबाट कार्यकारी तहका पदाधिकारीहरूको उपस्थितिको बैठकले महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिने विकास निर्माणका कामहरुलाई व्यवस्थित, मितव्ययी र प्रभावकारी बनाएर सम्पादन गर्ने निर्णय गरेको छ।यस्तै बैठकले भौतिक पूर्वाधारका कार्यहरू गर्दा तीनै तहका सरकारी निकायहरूद्वारा समन्वय गरी काम गर्ने निर्णय समेत गरेको बताएको छ।
उक्त बैठकमा बैठकबाट भइरहेको कामकारबाहीहरूको समीक्षा गर्ने बताइएको छ।
यस्तै एकीकृत रूपमा सम्पादन गर्न सकिने कार्यहरूलाई यकिन गरी एकीकृत प्रारूप र प्रभावकारी रूपमा सम्पादन गर्ने जनाइएको छ।
सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्यको वातावरण निर्माण गर्ने र कार्य सम्पादनको क्रममा आइपर्ने समस्याहरूको यथोचित समाधान गर्ने विज्ञप्तिमा उल्लेख छ।

