चुनावमा भोट बटुल्ने नियतले बजेट ल्याईएको एमालेको आरोप



काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले प्रस्तुत गरेको बजेट अनुत्तरदायी र हावादारी भएको टिप्पणी गरेको छ । एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलले भने, ‘यो बजेट अनुत्तरदायी र हावादारी छ ।’

उनले बजेटले सरकारको सीमालाई पनि बुझ्न नसकेको बताए । ‘हामी प्रतिनिधिसभा र प्रदेश सभाको सम्मुखमा आइसकेका छौ । यो सरकार चुनावी सरकार हो । चुनावी सरकारले लामो अवधिका योजना अघि सारेर सीमा र हैसियत बिर्सेको छ’, पौडेलले भने, ‘चुनावमा भोट बटुल्ने नियत बजेटले राखेको छ । अर्थमन्त्रीले पदीय हैसियतलाई दुरुपयोग गरेर बजेट ल्याइएको छ ।’ त्यस्तै सरकारले दीर्घकालीन महत्वका योजनाहरुलाई अघि सारेर हावादारी काम गरेको एमालेको भनाइ छ ।

‘मुलुक आर्थिक संकटको डिलमा छ, यस्तो अवस्थामा आजका समस्या चिनेर केही गर्नुपर्नेमा हावादारी कुरा ल्याइएको छ’, पौडेलले भने ‘जस्तो कोशी कर्णाली नदिन जोड्ने यो विषय अहिले अघि सार्नुपर्ने काम हो ?’ उनले बजेटले ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य राखेपनि पुरा हुने आधार नभएको बताए । त्यस्तै निर्धारित मुद्रा स्फृतिलाई सात प्रतिशत सीमामा राख्ने कुरा पनि सम्भव नभएको पौडेलको भनाइ छ। ।
पौडेलले राजश्व संकलन बजेटअनुसार नहुने भन्दै बजेटलाई सुन्निएको संज्ञा दिए । ‘बजेट आकारका हिसाबले सुन्निएको छ, विनियोजनका हिसावले हावादारी छ र चुनाव केन्द्रीत र निश्चित नेताहरुलाई लक्षित गरेर बजेट आएको छ ।’

अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटमा केही राम्रा पक्ष भएपनि धेरै कुरा गर्नै नसक्ने राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्