फाप्लु अस्पतालमा दरबन्दी कटौती हुंँदा सेवाप्रवाहमा समस्या भएको राजभण्डारीको गुनासो

सुबास दर्नाल,सोलुखुम्बु ।नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल फाप्लुलाई ३२ जनाको दरबन्दीबाट घटाएर १८ जनामा सिमित गर्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको बताउनु भएको छ।

इकोहिमाल नेपाल नामक गैर सरकारी संस्थाद्वारा जिल्लाका दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य उपकरण हस्तान्तरण गर्न फाप्लुमा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै राजभण्डारीले सो कुरा बताउनुभएको हो। कार्यक्रममा जिल्ला अस्पताल फाप्लु र सोताङ प्राथमिक अस्पताललाई सो संस्थाले १ करोड २२ लाख २० हजार रुपैयाँ बराबरको उपकरण हस्तान्तरण गरेको थियो।
सांसद राजभण्डारीले गैरसरकारी संस्थाहरुको सहयोगले जिल्लाको स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग मिलेको समेत बताउनुभयो।कतिपय संस्थाहरुले विभिन्न स्वार्थ राखेर सहयोग गर्ने गरेको बताउंदै वहाँले त्यो भने दिर्घकालका लागि घातक हुन सक्ने आशंका व्यक्त गर्नुभयो।
सोही कार्यक्रममा पूर्बराज्यमन्त्रीसमेत रहेका प्रदेश सांसद उत्तमकुमार बस्नेतले जिल्लालाई स्वास्थ्य सेवाको हब बनाउनुपर्नेमा जोड दिनुभयो । हावापानीको हिसाबले पनि सोलु सबैका लागि अनुकुल भएकाले जिल्लाको स्वास्थ्य क्षेत्रलाई विकास गर्नमा प्रदेशसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला अस्पताल फाप्लुका अस्पताल विकास समितिका अध्यक्ष बीरकुमार राईले गैरसरकारी संस्थाको सहयोगले अस्पताललाई ठुलो मद्धत मिलेको बताउँनुभएको छ । अस्पताललाई अवश्यक लाखौँ मुल्य बराबरको सामाग्री सहयोग गरेर सरकारलाई गैरसरकारी संस्थाले पुर्याएको योगदानको कदर गर्दै धन्यवाद दिनुभयो ।
संस्थाका कार्यकारी प्रमुख नारायण ढकालका अनुसार जिल्ला अस्पताल फाप्लुलाई पेडिएट्रीक टु एडल्ट भेन्टिलेटर १ थान, प्रोटेबल एडल्ट भेन्टिलेर १ थान, ब्लड ग्याँस एन्लाईजर १ थान, पेसेन्ट मनिटर पाँच पारामिटरको १ थान र सात पारामिटरको १ थान गरि ६१ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको छ ।
यस्तै, सोताङ प्राथमिक अस्पताललाई प्रोटेबल एडल्ट भेन्टिलेर १ थान, प्रोटेबल एक्सरे मेसिन १ थान र प्रोटेबल मनिटर पाँच पारामिटरको १ थान गरि ६१ लाख २० हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको इको हिमाल नेपालले जनाएको छ ।

