चारबर्ष पछि पुनः मतगणना गर्दा कांग्रेसबाट निर्बाचित वढाध्यक्ष पराजित

महोत्तरी । मनरा सिस्वा नगरपालिका १० ले नयाँ वडाध्यक्ष पाएको छ। मतदान भएको चार वर्षपछि अदालतको आदेशबाट भएको पुनः मतगणनामा नगरपालिकाले नयाँ वडाध्यक्ष पाएको हो।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको चार वर्षपछि अदालतको आदेशबाट आइतबार पुनः मतगणना हुँदा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी भएको घोषणा गरिएको छ। चार वर्ष वडाको कार्यभार चलाएका वडाध्यक्ष अरुणकुमार चौधरी पुनः मतगणनाबाट पराजित भएका छन्। उनले नेपाली कांग्रेसबाट विजयी हासिल गरेका थिए।
उच्च अदालत जनकपुरमा पुनः मतगणना हुँदा चौधरीको २६६ मत आयो भने २६८ मत ल्याएर स्वतन्त्र उम्मेदवार राय निर्वाचित भए।
२०७४ सालको चुनावपछि भएको मतगणनामा दुबै उम्मेदवारको समान २६७ मत आएको भनिएको थियो। समान मत आएपछि गोलाप्रथा गरी कांग्रेस उम्मेदबार चौधरीलाई निर्वाचित गरियो। तर, धाँधली भएको भन्दै उम्मेदवार राय अदालतमा मुद्दा दर्ता गरेका थिए जसको परिणामले अहिले विजयी भएको घोषाणा गरिएको छ।

