प्रधानन्यायाधीश राणाको पद धरापमा, सर्बोच्चका बहुमत न्यायाधीशले नै मागे राजीनामा



काठमाडौं। कार्यपालिकामा समेत भागबन्डा खोजेको आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पद धरापमा पर्ने सम्भावना बढ्दै गएको छ।चौतर्फी रूपमा आलोचना बढ्दै गैरहेका बेला सर्बोच्चकै न्यायाधीशहरूले प्रधानन्यायाधीशमाथि छानबिन हुनुपर्ने र त्यसो हुन नसके उनले अर्को नेतृत्वका लागि बाटो खुला गर्नुपर्ने निष्कर्ष निकालेपछि उनको पद धरापमा पर्ने सम्भावना बढेको हो।वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीसहित सर्वोच्चका बहुमत न्यायाधीशको आज भएको अनौपचारिक बैठकले सर्वोच्च अदालतको विश्वसनीयता र पछिल्ला दिनमा लगातार आइरहेका समाचारको समीक्षा गर्दै गम्भीर प्रश्न उठेकोले प्रधानन्यायाधीश राणामाथि छानबिन हुनुपर्ने निष्कर्ष निकालेको बताईएको छ।

श्रोतका अनुसार वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा प्रधानन्यायाधीशमाथि छानबिन हुनेपर्ने पक्षमा देखिएका छन् ।

सर्वोच्च अदालतका बहुमत न्यायाधीश प्रधानन्यायाधीशविरुद्ध छलफलमा रहेका बेला न्यायाधीशहरू अनिलकुमार सिन्हा र सपना मल्ल प्रधान आइतबारदेखि नै बिदा बसेका छन् । न्यायाधीश ईश्वर खतिवडा पनि दशैँ अघिदेखि अमेरिकामा छन् ।

दशैँअघि बसेको सर्वोच्चको फुल कोर्टको बैठकमा प्रधानन्यायाधीशको आचरण, सर्वोच्चको पद्धति, पारदर्शिता लगायतका कुराहरू उठे पनि राणाले कुनै ठोस निष्कर्ष ननिकाली बैठक टुङ्ग्याएका थिए ।

फुल कोर्टको बैठकमै न्यायाधीश ईश्वर खतिखडा र प्रकाशमानसिंह राउतले प्रधानन्यायाधीश राणाकै कारण न्यायालय एकपछि अर्को बद्नामीमा गएकाले अटोमेसन सिस्टम या गोलाप्रथाबाट पेशी तोक्न शुरु गर्नुपर्ने धारणा राखेका थिए ।प्रधानन्यायाधीश राणाकै कारणले संवेदनशील र जटिल मुद्दाको सुनुवाइ हुन नसकेको पनि न्यायाधीशलहरुको निष्कर्ष छ।

उनले भने, ‘संवैधानिक इजलास स्वार्थको हतियार बनाइएको छ । न्यायालयमा काखापाखा बढेको छ । यस्तो अवस्था हेरेर हामी बस्नेभन्दा नेपालको न्यायालयको गरिमा बचाउन प्रधानन्यायाधीशविरुद्ध अवज्ञासम्ममा जानुपर्ने विषयमा पनि हाम्रो छलफल भयो ।’

प्रधानन्यायाधीश राणाले अविलम्ब निष्पक्ष छानबिन गराई आफूमाथि उठेका प्रश्नको जवाफ प्रमाणले दिने वा राजीनामा दिनेमध्ये एक विकल्प रोज्नुपर्ने न्यायाधीशहरुको निष्कर्ष रहेको श्रोतको भनाइ छ।सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश राणालाई न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडालको मात्र हाल प्रन्या राणाको पक्षमा देखिएका छन् भने न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुँयाल र नहकुल सुवेदी तटस्थ देखिएका छन् ।

यसैबीच,गोलाप्रथाबाट पेसी तोक्ने बारेको कार्यविधि र नियमावली पारित गर्न ‘फुल कोर्ट’ बैठक भोलि बस्दै छ । फुल कोर्टमा सर्वोच्च अदालतका सबै न्यायाधीशहरू हुन्छन् ।

बैठकमा नेपाल बार एसोसिएनको प्रतिनिधि पनि सहभागी हुने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बारका प्रतिनिधिलाई फुल कोर्ट बैठकमा सहभागी गराउने भएका हुन् ।

बैठकमा प्रधानन्यायाधीशसँग सम्बन्धित विवादबारे पनि छलफल हुने भएको बारका महासचिव लीलामणि पौडेलले बताए । आज पनि त्यसबारे बारका प्रतिनिधिले जबरासँग छलफल गरेको पौडेलको भनाइ छ । सो क्रममा जबरा गोलाप्रथाबाट मुद्दाको पेसी तोक्न राजी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्