गठबन्धन सरकारले बजेट कटौती गर्दा सोलुखुम्बुका झण्डै आधा दर्जन सडक योजनाको काम अलपत्र

सोलुखुम्बु।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले सुरु गरेका बिकास आयोजनाहरु बर्तमान सरकारले कटौती गर्दा त्यसको प्रत्यक्ष मार सोलुखुम्बुबासीले समेत ब्यहोर्नुपर्ने भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको माओवादी केन्द्र लगायत ५ दलीय गठबन्धन सरकारले अघिल्लो सरकारले ल्याएको बजेटमा भएका योजनाहरु कटौती गर्दा गत बर्ष नै सम्झौता भएका सडक आयोजनाहरु त्यत्तिकै अलपत्र पर्ने भएका हुन्।अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेको अवरोधका बीच संघीय संसदमा जबर्जस्त पेश गरेको आर्थिक प्रतिस्थापन बिधेयकमा सयौं सडक निर्माण योजना कटौती गरेका थिए।ती मध्ये सोलुखुम्बुको आर्थिक समृद्धिसंग जोडिएका प्रमुख ५ वटा महत्वपूर्ण सडक निर्माण र स्तरोन्नतिका योजना पनि छन् ।
बर्तमान सरकारले कटौती गरेका योजनामा जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-११ तिङ्लाबाट सल्यान हुँदै नेचासल्यान-४ फुर्केसम्म र जोरबौद्दबाट थुलुङ दुधकोशी गाउँपालिका-पावै हुँदै सोताङसम्मको सडक कालोपत्रे गर्ने योजना छन् । यी दुईवटा सडक खण्डमा आगामी बर्षभित्र कालोपत्रे सम्पन्न गर्ने गरि गत चैतमा सम्झौता भई टेण्डरको चरणमा थिए।
सातै प्रदेशका २१० सडक क्षेत्रलाई स्थानीय तहको केन्द्रसम्म जोड्ने तत्कालीन सरकारको योजना अन्तर्गत सोलुखुम्बु जिल्लाबाट छानिएका ती दुई योजना सम्पन्न गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ,प्रादेशिक एवं स्थानीय सडक निर्माण सुधार कार्यक्रम अन्तर्गत सडक सुधार योजनासम्बन्धी सम्झौता गत चैत्र १ गते १ नं प्रदेश मुख्यमन्त्रीको कार्यालयमा सम्पन्न भएको थियो। सम्झौतापत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय प्रदेश नं. १ का कार्यालय प्रमुख शम्भु कार्की, प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. १ का सचिव मोहनकुमार शाक्य र नेचासल्यान तथा सोताङ गाउँपालिका अध्यक्ष क्रमशः डुफकुमार बास्तोला र बीर बहादुर राइलको हस्ताक्षर रहेको छ।
आयोजना कार्यान्वयनका लागि मन्त्रिपरिषदबाट स्वीकृत गरिएको कार्यविधिअनुसार १० किलोमिटरसम्मको सडक निर्माणका लागि संघीय सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत योगदान गर्नुपर्ने थियो ।
यसबर्ष सम्झौता गरिने सल्लेरी-सिलगुढी डांडा -काँकु -बासा जुभिङ- खरिखोला- लुक्ला सडक
दुधकोशी एकवार-जयराम घाट- तलुवा भदौरे -कुइभीर- नेचासल्यान- सोलु दुधकुण्ड नगरपालिकासम्मको सडक र सोलुखुम्बु नाङपाला चीन नाका जोड्ने सिद्दिचरण सगरमाथा राजमार्गको बजेट समेत कटौती गरिएको छ।अहिले बजेट कटौती गरिएका यी पांचवटै सडकको निर्माण तथा स्तरोन्नतिका लागि तत्कालीन ओली नेतृत्वको सरकारले प्राथमिकताका साथ बजेट बिनियोजन गरेको थियो। बर्तमान सरकारले ती योजनाहरु कटौती गरेपछि सडक निर्माण र कालोपत्रे तत्काल हुने सर्बसाधारणको आशामा तुषारापात भएको एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष समेत रहेका नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले बताए ।
डिपिआरको चरणमा रहेका महत्वपूर्ण सडकहरुको बजेट कटौती गरेर देउवा नेतृत्वको सरकारले आफ्नो बिकास बिरोधी चरित्र उदांग पारेको प्रतिक्रिया दिंदै अध्यक्ष बास्तोलाले सोलुखुम्बु जिल्लाका लागि दूरगामी प्रभाव राख्ने यी महत्व पूर्ण सडक आयोजनाको काम तत्काल निर्बाध अगाडी बढाउने वातावरण निर्माण गर्न सरकारसंग माग समेत गरेका छन् ।
(तस्वीर : कालोपत्रे सम्बन्धी सम्झौता गर्दै नेचासल्यान गाउँपालिका अध्यक्ष बास्तोला र सोताङ गाउँपालिका अध्यक्ष बीरबहादुर राई प्रदेश १ मुख्यमन्त्रीको कार्यालयमा)

