६४ जिल्लाका गाउँ /नगरमा कांग्रेस अधिबेशन आज,१३ जिल्लाको कृयाशील विवाद अझै टुंगिएन

काठमाडौं।१४ औं महाधिवेशनको घोषित कार्यतालिकाअनुसार नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा आज गाउँ/नगर अधिवेशन गर्दैछ। देशभरका ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेर अधिकांश जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ। यी जिल्लाका धेरैजसो स्थानमा आज गाउँ/नगरको अधिवेशन हुन लागेको हो।

कांग्रेसले बाँकी १३ जिल्लाको क्रियाशील अझै टुंगो लगाउन नसक्दा ती जिल्लाहरुमा अझै वडा अधिबेशन हुन सकेको छैन। प्रदेश २ का कुनै जिल्लाको क्रियाशील सूची सार्वजनिक भएको छैन। विवादका कारण पटकपटक कांग्रेसले निर्वाचन कार्यतालिका पटकपटक संशोधन गर्दै आएको छ। यसपटक पनि दशैंअगाडि गाउँ/पालिका अधिवेशनमात्र हुने र बाँकी अधिवेशन दशैंपछाडि गर्ने निर्णय कांग्रेसले गरिसकेको छ।
पछिल्लो संशोधित कार्यतालिकाअनुसार असोज १२ गते प्रदेश सभाको क्षेत्रीय अधिवेशन, असोज १५ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन र असोज १८ गते एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन तय गरिएको थियो। दशैंअघिका लागि तय गरिएका गाउँ/नगरका अधिवेशन दशैं पछि धकेलिने कांग्रेस नेताहरु नै बताउँछन्।
यस विषयमा कांग्रेस पदाधिकारी बैठकमा पटकपटक छलफल भएको र केन्द्रीय समितिबाट निर्णय गराउने तयारीमा पार्टी रहेको बताइएको छ।

