स्वास्थ्य सेवामा महाकुलुङ गाउँपालिकाको फड्को
काठमाडौं । दृढ इच्छाशक्ति भएपछि सोचेअनुरुपको काम सम्पन्न गर्न सकिन्छ भन्ने एउटा ताजा उदाहरण बनेका छन्, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती । सोलुखुम्बु जिल्लाको अत्यन्तै दुर्गम मानिने सो गाउँपालिकामा सुविधासम्पन्न आफ्नै अस्पताल निर्माण गर्ने गाउँपालिका अध्यक्ष राईको सपनाले पूर्णता पाएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले औपचारिक उद्घाटन गरेसँगै सामान्य रोगको उपचार गर्न अन्यत्र जानुपर्ने झन्झटबाट महाकुलुङ गाउँपालिकाबासी मुक्त भएका छन् । यो गाउँबासीहरुका लागि ठूलो उपलब्धी भएको स्थानीयको प्रतिक्रिया छ ।
२०६६ सालमा निर्माण भएको बुङ स्वास्थ्यचौकी गाउँपालिका अध्यक्ष किराँतीको अगुवाईमा ‘महाकुलुङ प्राथमिक अस्पताल’मा रुपान्तरण भएको हो । अस्पताल सञ्चालनको मापदण्ड अनुसार गाउँपालिकाको आर्थिक व्यवस्थापनमा पुरानै भवनलाई रङ्गरोगनका साथै कोठाहरु निर्माण गरेर सञ्चालनमा ल्याइएको महाकुलुङ प्राथमिक अस्पतालमा एकजना एमबीबीएस डाक्टर, चारजना हेल्थ असिस्टेन्ट, एकजना स्टाफ नर्स, अहेव र अनमि समेतको व्यवस्था गरिएको अध्यक्ष किराँतीले जानकारी दिए । किराँतीका अनुसार १५ शैय्याको सो अस्पताल आवश्यक मेसिन, भौतिक संरचना, औषधि खरिद सम्पन्न गरी दुई महिना अगाडिदेखि नै सञ्चालनमा आए पनि यसको औपचारिक उद्घाटन मात्रै आज गरिएको हो । महाकुलुङ प्राथमिक अस्पतालमा भिडियो एक्सरे, ल्याव, वर्थिङ सहितको सुविधा उपलब्ध रहेको उनले बताए । अस्पताल सञ्चालनका लागि गाउँपालिका, विभिन्न संघ÷संस्था र व्यक्तिगत आर्थिक सहयोग रहेको महाकुलुङ स्वास्थ्य शाखाले जनाएको छ ।
मुख्यमन्त्री राईको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राई, प्रमुख जिल्ला अधिकारी रमा आचार्य प्रहरी प्रमुख टेकुनन्द युवा लिम्बुलगायत जिल्लाका विभिन्न गाउँपालिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
