एमसीसीबिरुद्द बृहत् आन्दोलनको तयारी, सत्तागठबन्धनकारी दल जनमोर्चा पनि सडकमा

काठमाडौं। जबर्जस्त रूपमा सरकारले संसदबाट एमसीसी सम्झौता अनुमोदनको तयारी गरिरहेको आशंका सर्बत्र भइ रहेका बेला विप्लव नेतृत्वको पार्टीसहितको २२ दलीय संगठनले राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी २२ दलीय संगठनले भदौ २३ गते मध्यान्ह माइतीघर मण्डलामा एमसीसी खारेजी आन्दोलनको ब्यानरमा संयुक्त बिरोध प्रदर्शन गर्ने घोषणा गरेको हो ।
प्रदर्शन मण्डलाबाट र्याली-जुलुस सहित नयाँ बानेश्वरमा पुगी बिरोध सभामा परिणत हुनेछ । साथै उक्त संयुक्त बिरोध सभामा उपस्थितिको निम्ति अपिल समेत गरिएको छ ।
देशका सबै जिल्लाहरुमा सम्बन्धित दलहरुले ब्यापक जनसहभागितामा एमसीसी खारेजीको निम्ति कार्यक्रम गरिने निर्णय समेत गरिएको छ ।
उता सत्तारुढ गठबन्धनमा रहेको चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पनि एमसीसीविरुद्ध सडक आन्दोलन घोषणा गरेको छ ।
राष्ट्रिय जनमोर्चा नेपालले अमेरिकी परियोजना एमसीसीविरुद्ध यही भदौ २२ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ।अमेरिकी सैन्य रणनीति इण्डोप्यासिफिककै अंग एमसीसी भएको बताउँदै जनमोर्चाले कुनै हालतमा अनुमोदन गर्न नहुने अडानसहित प्रदर्शन गर्न लागेको हो।
आइतबार प्रेस विज्ञप्ति निकालेर जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदर्शन थाल्ने बताएका हुन्।उनले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले न्यूनतम कार्यक्रममा एमसीसी समावेश नगरे पनि केही दिनयताका गतिविधिले पारित गराउन चलखेल भइरहेको संकेत देखिएको बताएका छन्।
‘एमसीसी र अन्य गम्भीर प्रकृतिका, विवादास्पद विषय सरकारले नउठाउने गठबन्धनमा सहमति भएको हो उनले भने, केही दिनयता राष्ट्रिय जनमोर्चाबाहेक गठबन्धनका दलबीच एमसीसीबारे छलफल भएको, एमसीसीको विज्ञापन बजेको, एमसीए अमेरिकाका उपाध्यक्ष नेपाल आउन लागेको, अमेरिकाले एमसीसीलाई संसदबाट पारित गर्न दिएको दबाबबाट पास गराउने पुष्टि भएको छ।
केसीका अनुसार जनमोर्चाले एमसीएका उपाध्यक्षको भ्रमण र एमसीसी पारित गर्न दिएको दबाबविरुद्ध प्रदर्शन हुनेछ। त्यस्तै गठबन्धन सरकारलाई सचेत गराउन सांकेतिक रुपमा देशभर प्रदर्शन गरिने बताए।

