प्रदेश १ का १० सांसद माधव नेपाल को पार्टीमा, कर्णालीका ३ जनाको साथ

काठमाडौं।प्रदेश १ का नेकपा एमालेका १० जना सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) रोजेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमाले छाडेका १० प्रदेश सांसदले नेकपा एसको पक्षमा केहीबेरअघि सनाखत गरे ।

सनाखत गर्नेहरूमा राजेन्द्र राई, राजन राई, पदमकुमारी गुरुङ,सरिता थापा,सुनिता चौधरी,उपेन्द्र घिमिरे,कृष्णकुमारी राई,गणेश काङवाङ, खिनु लङ्वा लिम्बु,सावित्री रेग्मी छन् ।
प्रदेश १ को सभामा नेकपा एमालेका ५१ जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका १० जनाले नेकपा एस रोजेसँगै मुख्यमन्त्री भीम आचार्य एक सातामै अल्पमतमा परेका छन् ।
कर्णाली प्रदेश सभाका तीनजना सांसदले नेकपा (एमाले) छोडेर नयाँ पार्टी एकीकृत समाजवादी रोजेका छन्।
माधवकुमार नेपाल नेतृत्वको उक्त पार्टीको पक्षमा मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गर्ने नेता प्रकाश ज्वालाले बताए।

