दार्चुला तुइन प्रकरणको प्रतिवेदन गृहमन्त्री खाँडलाई बुझाइयो
काठमाडौँ । दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नेपाली बेपत्ता भएको घटनामा छानबिन गर्न गठित समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको छ। मंगलबार साँझ गृह मन्त्रालयमा खाँडले प्रतिवेदन बुझेका हुन्।

भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए। धामी अझैसम्म भेटिएका छैनन्।
सरकारले १० लाख रुपैयाँ क्षतपूर्ति धामीको परिवारलाई दिने घोषणा गरिसकेको छ। दार्चुलामा महाकाली तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी १५ साउनमा बेपत्ता भएका थिए ।
सो घटनाको छानबिन गर्न साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति बनाइएको थियो । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिए। ‘ प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ,’ मन्त्री खाँणले भने, ‘प्रतिवेदनको कार्यान्वयन प्रक्रिया थाल्न सचिवज्यूलाई निर्देशन दिन्छु ।’

