पौडेल समूहले सभापतिमा साझा उम्मेदवार छान्ने



नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिमा साझा उम्मेदवार छान्ने भएका छन् । यो प्रक्रियाका लागि पछिल्लो समय पौडेल समूहका नेताहरु व्यापक छलफलमा जुटेका छन् ।

कांग्रेसमा क्रियाशिल सदस्यता टुंगिने निश्चित भएपछि पौडेल समूह उम्मेदवारी छनोट प्रक्रियाका लागि कसरतमा जुट्न थालेको हो ।

यो समूहले गरेको छलफलमा कांग्रेस महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला र डा. रामशरण महतले आफूहरु सभापति हुनु पर्ने दाबी गरेका थिए । छलफलमा रामचन्द्र पौडेल पनि सहभागी थिए ।

पौडेलले छलफलमा चाहिँ आफूहरु एक भएर अगाडि बढे संस्थापन पक्षलाई हराउन सकिने बताएका थिए । उनले यसका लागि सबै नेताहरुले एकैपटक सभापतिको उम्मेदवारीका लागि बारम्बार फरक फरक अभिव्यक्ति दिन नहुने बताएका थिए ।

छलफलमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पौडेल यो समूहबाट आफूलाई सभापतिमा उम्मेदवार सिफारिस गरियोस् भन्ने चाहन्थे । तर, शशांक कोइराला र प्रकाशमान सिंहले आफ्नो उम्मेदवारी दिने घोषणाबाट पछाडि नहट्ने बताइरहेका छन् । त्यस्तै शेखर कोइरालाले पनि यसपटक सभापतिमा आफू उम्मेदवार हुनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्