एमाले नेत्री शाक्यले सम्हालिन् बाग्मती प्रदेश मुख्यमन्त्रीको जिम्मेवारी
काठमाडौं।बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

एमालेभित्र माधवकुमार नेपाल समूहमा रहेकी उनी नेता नेपालले नयाँ पार्टी दर्ता गरेकै दिन मुख्यमन्त्री नियुक्त भएकी हुन् । नयाँ पार्टी गठनमा नेता नेपाललाई साथ नदिएकी उनलाई एमालेको वाग्मती प्रदेश संसदीय दलले बुधबार नै दलको नेता चयन गरेको थियो ।
उनलाई संसदीय दलको नेतामा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव गरेका थिए । एमालेबाट बागमती प्रदेश सभामा ५६ जना सांसद छन् ।
कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । एमालेका सांसदकै बलमा पौडेललाई बहुमत छ । बागमतीमा ओलीपक्षका ३५ र माधवपक्षका २१ सांसद छन् ।
माधव पक्षको बलियो शक्ति सरकारबाट बाहिरिँदा पौडेलको सत्ता टिक्न सक्ने अवस्था रहँदैन । प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

