मैंले माधव नेपालको साथ छोडिसकें: सुरेन्द्र मानन्धर

काठमाडौं।माधव नेपाल समूहका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले नेपालको साथ छाडेका छन् । पार्टी एकताको पक्षमा रहेका मानन्धरले अब नेपालसँग रहन नसकिने प्रस्ट पारेका छन् ।

यसअघि नेपाल पक्षमा रहेका मानन्धरले निर्णायक अवस्थामा आएर नेपालको साथ छाडेका हुन् । माधव नेपालसहित असन्तुष्ट समूहले नयाँ दल दर्ता गरेपछि अन्ततः नेपाल समूहमा रहन नसकेको मानन्धरले जानकारी दिए ।
‘हिजो पार्टी मिलाउन हिँडेको कामबाहेक अब माधव नेपालको बारेमा ध्यान दिने मुडमा म छैन,’ मानन्धरले भने, ‘म माधव नेपालसँग छैन ।’
विभाजन रोक्नका लागि केन्द्रीय सदस्यले टोली नै बनाएर ५–६ दिनसम्म माधव नेपाललाई विभाजन नगर्न अनुनय विनय गरेको तर असफल भएको उनले बताए । मानन्धरले भने, ‘एउटा व्यक्तिको घमण्डका कारणले पार्टी एकता भाँड्न हुँदैन भनेर लागेका थियौँ । माधव नेपालले नमानेपछि म यो निर्णयमा पुगेको छु ।’

