बिदा भएको ११ महिनापछि विद्युत प्राधिकरण फर्किए कुलमान

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले पुन नियुक्ति नदिएका कारण नेपाल विद्युत् प्राधिकरणबाट बाहिरिएका कुलमान घिसिङ ११महिनापछि पुन: प्राधिकरणमा भित्रिएका छन् ।

यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो।सोहीबमोजिम घिसिङले आजबाट प्राधिकरणको जिम्मेवारी सम्हाल्ने भएका हुन्।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मन्त्रिपरिषद् बैठकमा पेस गरेको प्रस्तावअनुसार सरकारले उनलाई पुनःनियुक्ति दिएको हो।
मन्त्री भुसालकै प्रस्तावअनुसार यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ। शाक्यलाई प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिनेगरी आयोगमा पठाउने प्रस्ताव गरिएको हो। शाक्यले प्राधिकरणबाट हिजै (मंगलबार) बिदा लिइसकेका छन्।
यसअघिको कार्यकालमा घिसिङले नै लोडसेडिङ समस्या सधैंका लागि अन्त्य गरी घाटामा रहेको प्राधिकरणलाई नाफा गर्न सक्ने अवस्थामा उकालेका हुन्।

