काठमाडौं उपत्यका लगायत देशैभर भारी बर्षा,ठाउँ ठाउँमा यातायात अवरुद्ध
काठमाडौं। काठमाडौं उपत्यकामा आज बिहान रातीबट भारी वर्षा भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले काठमाडौं उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भइरहेको हो ।

प्राधिकरणका अनुसार विष्णुमती, धोबीखोला, मनोहरालगायत खाेलामा जलसतह बढ्दो अवस्थामा छ ।
सतर्कता तह नजिक पुगेकोले उपत्यकाको नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
यसैगरी,अविरल वर्षाका कारण पहिरो खस्दा बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने दुईवटा सडकखण्ड खवरुद्ध भएका छन् ।
पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौडा–कुलेखानी–काठमाडाैं सडक अवरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए
पहिरोका कारण मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ लामराङ स्थित कान्ती लोकपथ सडक खण्डमा पहिरो खसी दुबैतर्फी बाटो अबरोध भएको छ । सोमबार राति खसेको पहिरोका कारण उक्त सडकखण्ड भएर चल्ने सवारी आवागमनमा समस्या भएको छ ।
यस्तै हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भिफेदी गाउँपालिका वडा नम्बर २ ज्यालटारमा पहिरो जाँदा हेटौँडा–भैसे–भिमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्ड अवरुद्ध भएको छ । यसमार्ग अन्तर्गत भिमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सवारीसाधनहरु पहिरोका कारण अवरुद्ध भएका छन् ।
उता,कैलालीमा पहिरोले सडक अवरुद्ध भएको छ ।भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सोमबार राति पहिरो गएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जानकारी दिएको छ ।
राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिम पहाडी जिल्लाबाट छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् भने कैलाली र कञ्चनपुरबाट छुटेका सवारीसाधन अपनि बाटोमै छन् ।

