विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भन्छन्,- ‘सरकारले दिने जिम्मेवारी मन्जुर छ’



काठमाडौं।नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले दिएको जिम्मेवारी स्वीकार्ने बताएका छन् । अनौपचारिकरूपमा आयोजित पत्रकार भेटघाटमा कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन् ।

सरकारले कार्यकारी निर्देशकलाई राजीनामा दिन आग्रह गरेको भन्ने सन्दर्भमा पत्रकारको जिज्ञासामा उनले भने, “म नेपाल सरकारको कर्मचारी भएकाले आफूलाई दिइने जुनसुकै जिम्मेवारी स्वीकार गर्छु ।” उनले आफूलाई सरकारले उचित र क्षमताअनुसारको जिम्मेवारी दिनेसमेत विश्वास व्यक्त गरे ।

“दोष देखाएर होइन, आवश्यकताका आधारमा जिम्मेवारी दिए, म त्यसलाई स्वीकार गर्छु । सरकारको निर्णय शिरोपर छ”, उनले भने । आफूलाई सरकारले राजीनामा नमागेको, बरु वैकल्पिक व्यवस्थाका बारेमा सोधिएको बताए । “सरकारले खटाएको ठाउँमा काम गर्न मलाई कुनै समस्या छैन । महामारीको समयमा प्राधिकरणमा बसेर काम गरेको छु । सरकारले दिने जिम्मेवारी स्वीकार गर्छु”, उनले भने ।

मङ्गलबार सरकारले कार्यकारी निर्देशक शाक्यको राजीनामा मागेको सूचना सार्वजनिक भएको थियो । सरकारले आफूलाई अन्याय नगर्ने विश्वास व्यक्त गर्दै उनले विकल्प दिएर खटाएमा म काम गर्न तयार छु । उनले एक्लै गएर स्थापना गरेको इनइए इञ्जिनीयरिङ कम्पनीले हाल ५०० मेगावाटदेखि २००० मेगावाट क्षमताका आयोजनाको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने क्षमता राख्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्