युनियन लाइफको आइपिओ असार २४ गतेदेखि भर्न पाइने

युनियन लाइफ इन्स्योरेन्सको आइपिओका लागि आगामी २४ असार बिहीबारदेखि आवेदन दिन पाइने भएको छ । यसको आवेदन मिति छिटोमा २८ असारमा बन्द हुने छ भने ढिलोमा साउन ७ गते बन्द हुने छ ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत हुन आउने ६४ लाख ५० हजार कित्ता अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशतमा हुन आउने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरूलाई सुरक्षित गरेको छ । त्यस्तै, बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।
आवेदकले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मको सेयरका लागि आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेयर जारी गर्न इक्रा नेपालले इन्स्योरेन्सलाई इक्रा एनपी इस्युअर त्रिपल बी रेटिङ प्रदान गरेको छ जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
१ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आइपिओ बाँडफाँटपछि २ अर्ब १५ करोड रुपैयाँ नाघ्ने छ । नेपाल धितोपत्र बोर्डले इन्स्योरेन्सलाई गत असार १३ गते मात्रै सेयर जारी गर्नको लागि स्वीकृति दिएको थियो ।

