माधव नेपाल भन्छन्,- ‘विपक्षी गठबन्धनलाई धोका दिएर ओलीसंग कुनै हालतमा मिल्दिन’



काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पदको प्रलोभनमा परेर गठबन्धनलाई धोका नदिने बताउनुभएको छ ।

संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरूसँगको अन्तरक्रियामा नेपालले पाँच दलीय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिर्वतनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको लोभमा धोका नदिने बताउनुभयो । पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्तिविरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको उहाँकोभ नाइ छ ।

एमाले नै भएर एमालेकै सरकार विरुद्ध लाग्नुलाई उहाँले पार्टी भित्रको विद्रोही आवाज र क्रान्तिकारी आवाजको संज्ञा दिनुभयो । आफूले विगतमा पार्टी भित्र समस्या देखिने वित्तिकै जिम्मेबारीबाट आफूमुक्त भएको स्मरण गर्दै प्रधानमन्त्री ओली भने सत्तामोहमा लिप्त भएको टिप्पणी गर्नुभयो ।

नेता नेपालले ओलीप्रति कटाक्ष गर्दै तानाशाहरू डेमोक्रेटिक सिस्टमबाट पनि जन्मिएको बताउनुभयो । देशले केपी ओलीको रूपमा तानाशाह पाएको टिप्पणी गर्नुभयो । ओलीले शेरबहादुर देउवा बस्ने कुर्सी नै भाँचिदिएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको पद दिएपछि माधव कुमार नेपालको मन विचल्लित हुने हो कि खुट्टा काम्ने हो कि ? समय छैन अब । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र संविधान र परिर्वतनको पक्षमा उभिएको र त्यसैमा उभिनुपर्छ भन्ने मान्यता बोकेर अघि बढेको हो ।

उहाँले आफू कुर्सीका लागि नभई संविधान र लोकतन्त्रको रक्षाका लागि लडेकाले आफुले गठबन्धनलाई धोका नदिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘माधव नेपाललाई प्रधानमन्त्री आउँछ भन्ने होइन, आइसक्यो तर माधव नेपाल धोका दिने मान्छे होइन । प्रस्ताव फिर्ता गर्ने । कुनै पनि हालतमा यो प्रश्न छैन ।’

प्रतिक्रिया दिनुहोस्