मन्त्रिमण्डल बिस्तारमै सकस भएपछि काठमाडौंमा हारगुहार गर्दै गण्डकीका मुख्यमन्त्री पोखरेल

काठमाण्डौं।गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार गठन भएको १० दिन बितिसक्दा पनि मन्त्रिमण्डल गठन नसकेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल काठमाडौं आएर साझेदार दलका नेताहरुसंगको भेटबार्तालाई तीब्रता दिइरहेका छन् ।

हिजो काठमाण्डौं आएका मुख्यमन्त्रीले गठबन्धनमा सामेल दलका केन्द्रिय नेताहरुसंग भेट्दैछन् । बिना विभागीय मन्त्री कुमार खड्कालाई लिएर आएका पोखरेलले हिजो नै कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका हुन् ।
केन्द्रमा भएको गठबन्धनको समिकरण प्रदेशमा सरेकाले कांग्रेसले गण्डकी प्रदेको नेतृत्व लिन सफल भएको हो । तर, अहिले मन्त्री परिषद विस्तारमा किचलो देखिएको छ । गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पोखरेलले सोही दिन ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
एमाले नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बीच गठबन्धन भएको थियो । गठबन्धन बनाउने क्रममा दलको हैसियतअनुसार प्राथमिकताका आधारमा मन्त्रालय रोज्ने भनिएपछि कांग्रेसले अर्थ, माओवादीले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो ।
कुराकानी गरेपछि कांग्रेसले अर्थ मन्त्रालय हरिशरण आचार्यलाई दिने सहमति गरेको थियो । तर अहिले आएर कांग्रेसले जसपालाई अर्थ मन्त्रालय दिन नसक्ने भनेपछि उत्पन्न विवादका कारण मन्त्रीहरूको कार्यविभाजन रोकिएको छ भने मन्त्रिपरिषद् विस्तार पनि हुन सकेको छैन । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारमा परेको गाँठो फुकाउन मुख्यमन्त्री पोखरेल शीर्ष नेताहरूलाई भेट्न काठमाण्डौं आएका हुन् ।
उनले आज जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई भेटेका छन् । भेटमा डा भट्टराइले प्रदेशमा देखिएको समस्यामा केन्द्रले हस्तक्षेप नगर्ने भन्दै मिलेर जान सुझाव दिएका छन् । यसअघि भएका सहमति कार्यान्वयन गर्दै जनतालाई सहजताको अनुभूती दिलाउन वर्तमान प्रदेश सरकार लाग्नुपर्ने बताएको डा भट्टराइलाई उद्धृत गर्दै भट्टराइका सहयोगी रोशन पोखरेलले जानकारी दिए । यस्तै अहिले राष्ट्रिय प्रजातन्त्र पार्टिका नेताहरुसंगको भेट जारी रहेको छ । मुख्यमन्त्री पोखरेल राप्रपाको केन्द्रिय कार्यालय पुगेका छन् ।
यद्यपी छलफलमा को को छन् भन्नेबारे जानकारी गराइएको छैन । मुख्यमन्त्री पोखरेलले आजै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसंग पनि भेट गर्ने मुख्यमन्त्रीको निजि सचिवालयले जनाएको छ । मन्त्रिपरिषद् बिस्तार र कार्यविभाजनमा देखिएको समस्या सुल्झाउन मुख्यमन्त्री कसरतमा छन् ।
शीर्ष नेताहरुले गठबन्धनलाई कमजोज बनाउन नहुने सुझाव मुख्यमन्त्रीलाई दिएका छन् । को मन्त्री बन्ने भन्दा पनि विकास कसरी गर्ने भन्नेमा सबैको ध्यान केन्द्रित हुनुपर्ने सुझाव दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

