प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोडको बजेट



काठमाडाैं। प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूलेआर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका हुन्।

उक्त बजेट चालु आर्थिक वर्षको भन्दा आठ अर्ब ४३ करोड सात लाख रुपैयाँले न्यून हो। चालु आव २०७७/७८ को बजेट ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँको थियो।

आगामी आवका लागि विनियोजित बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख (४३.६ प्रतिशत) र पुँजीगततर्फ १५ अर्ब पाँच करोड ३५ लाख (४६.३) प्रतिशत छुट्याइएको उनले बताए।

यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब २२ करोड ४२ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ तीन करोड रुपैयाँ विनियोजन गरिएको छ।

आङ्बुहाङले मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गरेको बजेटमा स्वास्थ्य क्षेत्र सुधारका निमित्त ३ अर्ब २५ करोड रुपैयाँ छुट्याईएको छ।

प्रदेश सरकारले मेची अस्पताललाई दुई सय, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र अन्य जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालमा स्तरोन्नती गर्ने योजना बनाएको छ।

त्यस्तै प्रदेश सरकारले कोसी कोभिड अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने घोषणा गरिसकेको छ।मन्त्री आङबुहाङले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ४४ करोड विनियोजन गरेको बताए।

त्यसैगरी शिक्षा क्षेत्रमा १ अर्ब १९ करोड छुट्याएको उल्लेख गर्दै मन्त्रीले पुस्तकालय, संरचना र शैक्षिक सामग्रीको सुधार गरिने स्पष्ट पारे।उनले कृषि क्षेत्रमा २ अर्ब ९० करोड बजेट विनियोजन गरेको जनाए।

मन्त्री आङबुहाङका अनुसार प्रदेशको आर्थिक वृद्धिदर १ दशमलव १८ प्रतिशतले ऋणात्मक भएको छ । सरकारले चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ३.४१ प्रतिशत वृद्धि हुने अनुमान गरेको थियो।

चालु आवको आर्थिक वृद्धिदर ऋणात्मक भएपनि सरकारले आगामी वर्षको वृद्धिमा सुधार हुने दाबी ३.६ प्रतिशत वृद्धिको लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्