राजीनामा : नेपाल र रावल थप तनावमा, योगेश लगायतका युबा नेताहरु पनि साथ छोड्ने तयारीमा

काठमाडौं ।कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि एमालेको सांसद पदबाट सामूहिक राजीनामा दिन तयार माधव नेपाल र भिम रावलहरु थप तनावमा परेका छन। पार्टी नेतृत्व को सरकार हटाएर देउवालाई प्रधानमन्त्री बनाउन सामूहिक राजीनामा दिनु आत्माघाती हुने भन्दै नेपाललाई साथ दिंदै आएका अधिकांश यूबा नेताहरुले साथ छोड्ने संकेत बुझेपछि उनीहरू तनावमा परेका हुन।

(एमाले)का घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताहरू माधवकुमार नेपाललाई भेट्न बुधबार साँझ उनको निवास कोटेश्वर पुगेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् अडानबाट टस को मस नभएपछि नेता नेपाल तनावमा हुने नै भए, २७ गते आफ्ना पक्षका सांसदहरूलाई सामूहिक राजीनामाका सहमत गराउन नसक्दा उनी थप सङ्कटमा छन् ।
बुधबार माधव नेपालले घनश्याम भुसालसहितका नेतालाई ‘ओली कुनै पनि हालतमा सहमतिमा नआउने र उनले पार्टी एक होस्’ भन्ने नचाहेकाले राजीनामाको विकल्प सोच्न नसकिने निष्कर्ष सुनाएको एक नेता बताउँछन् ।
“राजीनामा दिएर सहयोग गरिदिनुस् । तपार्ईंहरूको बाँकी राजनीतिक जीवनको सुरक्षाको जिम्मा म लिन्छु । तपाईंहरू कसैको पनि राजनीतिक भविष्य समाप्तीको दिशामा जाँदैन,” नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
तर, त्यहाँ पनि केही नेताहरूले राजीनामा नै अन्तिम विकल्प नभएको तर्क अघि सारेको छलफलमा सहभागीहरू बताउँछन् । केही नेताले राजीनामालाई थाती राखेर अरू उपाय खोज्नुपर्ने धारणा अघि सारेको नेपालनिकट नेताहरू बताउँछन् ।
“राजीनामा नै उत्तम विकल्प होइन । राजीनामा नै दिने हो भने पनि त्यो समय घर्किइसकेको छ । अहिले राजीनामा दिँदा त्यसको जस्टिफाइ पनि हुनसक्दैन । पार्टीभित्रको अन्तरसंघर्षलाई जारी राखौँ, त्यसैको बलमा ओलीलाई कमजोर बनाएर आन्दोलनलाई फुट र विभाजनबाट जोगाउनु पर्ने उनीहरूको तर्क छ।
झन्झन् कम्जोर हुँदै नेपाल समूह
नेकपा छँदा नेता नेपालसँग ४४ सांसद मौजुद थिए । पुस ५ को कदमपछि शेरबहादुर तामाङलगायत केही सांसद प्रतिनिधिसभा विघटनको पक्षमा खडा भए, नेपाल ३५ मा झरेका थिए ।
वैशाख २७ को विन्दुमा आइपुग्दा २८ सांसदमात्रै अनुपस्थित हुन मञ्जुर रहे । खनाल–नेपाल समूहलाई साथ दिँदै आएका दैलेख २ का सांसद राजबहादुर बुढाक्षेत्री, दाङ ३ का हिराचन्द्र केसी पनि ओलीलाई विश्वासको मत दिने कित्तामा उभिए ।
राजीनामा नै दिनुपर्ने नेता नेपालले अडान राखिरहँदा सुनसरी १ का सांसद जयकुमार राई त्यो कित्तामा उभिन नसक्ने बताउँदै आइरहेका छन् । सामूहिक राजीनामातिर अग्रसर हुँदा सङ्ख्या घटेर १५ मा सीमित हुने त होइन भन्ने जोखिम रहेको खनाल–नेपाल समूहका नेता बताउँछन् ।

