राष्ट्रिय झण्डा जलाउनेलाई सिधै कारबाही : कांग्रेस



काठमाडौं, २ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको झण्डा झलाउनेलाई सिधै कारबाही गर्नुपर्ने बताएका छन् । ‘मंगोल हप अफिसियल’ नामक युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको मुलुकको राष्ट्रियता, जातीय सद्भाव भड्काउन गरी आपत्तिजनक शब्दहरु प्रयोग भएको ‘देशद्रोही’ शीर्षकको गीतको भिडियोमा नेपालको झण्डा, पूर्वराजादेखि नेताहरुको तस्बिरसमेत जलाइएको छ ।

जसप्रति आपत्ति जनाउँदै कांग्रेसले उक्त कार्यमा संलग्नलाई सिधै कारबाही गर्नुपर्ने बताएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देशको झण्डा, नक्सा या चिन्ह जलाउनेलाई के गर्ने भनेर कुनै छलफल गर्नु आवश्यक नरहेको भन्दै सिधै कारबाही गर्नुपर्ने बताएका हुन् ।

देशको झण्डा, नक्सा या अन्य कुनैपनी प्रतिक चिन्ह जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकतै हुन्न । तत्काल खोजी गर्ने, गिरफ्तार गर्ने र कानुनमा ब्यवस्था भए बमोजिम कडा कार्वाही गर्ने’, उनले भनेका छन् । नेपालको पहिचान र नेपालीको संवेदनशीलतामाथि हुने प्रहार स्वीकार्य नहुने भन्दै उनले भनेका छन्, ‘नेपालको पहिचान र नेपालीको संवेदनशीलता उपरको प्रहार जोबाट होस् त्यो कहिल्यै क्षम्य हुन्न ।’
यसैबीच राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो सुट गर्ने समूहका एक जनालाई प्रहरीले पक्रेको छ । ‘देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो बनाउने समूहका इशाक लिम्बुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

ललितपुरको नखिपोट घर भएका इशाकले सो भिडियोमा क्यामरापर्सनको भूमिका निभाएका थिए । सो समूहका अरु चारजना फरार छन् ।

मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्