नेचासल्यान: कोरोना संक्रमितलाई उपचारमा लैजानु परे सवारीसाधन गाउँपालिकाले उपलब्ध गराउने
सोलुखुम्बु ।जिल्लाको नेचासल्यान गाउँपालिकाले कोरोना संक्रमण पहिचान भएका बिरामीलाई उपचारका लागि अन्यत्र लैजानु पर्ने अवस्था आएमा त्यस्तो बिरामीका लागि आवश्यक सवारी साधन गाउँपालिकाले ब्यबस्था गर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा आइतबार सम्पन्न बिपत बिपत ब्यबस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।कुनै पनि सांस्कृतिक कार्यक्रम परिवारका सदस्यहरुमात्र रहेर गर्न अनुरोध गर्दै बैठकले बिबाहका कार्यमा १० जनालाइ मात्र सहभागी हुन दिने निर्णय गरेको छ। मृत्यु संस्कारमा घाटमा जांदा स्वास्थ्य मापदण्ड पालना गरि सकेसम्म कम संख्यामा जान पनि बैठकले आग्रह गरेको छ।गाउँपालिकाको वडा नं २ मा ३ जना संक्रमितहरुको पहिचान भइ सकेको अवस्थामा यसलाई फैलन नदिनका लागि बैठकले सो निर्णय गरेको बताउंदै गाउँपालिका अध्यक्ष बास्तोलाले बिबाह बर्तबन्ध र अन्य सांस्कृतिक कार्यहरूमा भोजभतेरलाई पूर्णत: बन्द गरिएको जानकारी दिए।
बैठकले पालिका बाहिरबाट आउने नागरिकहरुले अनिबार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि गरेको छ।अत्यावश्यक सामाग्रीहरुको ओसारपसारबाहेक दुई पांग्रे, नीजी र भाडाका सवारीसाधन चल्न नदिने र बैठकको निर्णय उल्लंघन गरेमा उल्लंघन गर्ने ब्यक्तिलाई संक्रामक रोग एन-२०२० अनुसार कारबाहीका लागि सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ।बिकास आयोजनाका काम मापदण्डको पालना गरि निर्बाध संचालन हुन दिने तर कामदार भित्र्याउन नदिने बैठकको निर्णय भएको बास्तोलाले बताए।
(फाइल फोटो)



