खुम्बियाली महिला समूहद्वारा आयोजित सरसफाइ अभियान सम्पन्न

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।खुम्बु पासाङल्हामु गाउँपालिका – ३ मा रहेको खुम्बियुला महिला समूहको आयोजनामा आफ्नो कार्य क्षेत्रभित्र रहेको स्थानहरुमा वृहत सरसफाइ कार्यक्रम गरिएको छ ।

वडा नं. ३ भित्र रहेका मन्जु, छुमा, बेङ्कर, तावा र जोरसल्ले क्षेत्रमा पर्यटकीय सिजन स्प्रीङ सिजनलाई ध्यानमा राख्दै सो सरसफाइ अभियान सञ्चालन गरिएको समूह सचिव डोल्मादिकी शेर्पाले बताउनुभयो ।
सरसफाइ कार्यक्रम पर्यटकीय पदमार्ग, नदी किनार तथा गाउँ टोलका बस्तीहरुमा गरिएको समूह का सह सचिव पासाङ राईले जानकारील दिनुभयो । सरसफाइ अभियानको क्रममा २ हजार केजी फोहोर सङ्कलन गरिएको थियो भने सङ्कलित जल्ने फोहोरलाई जलाइएको र नजल्ने फोहोरलाई उचित व्यवस्थापन गरिएको समूहका अध्यक्ष ङवाङ डोमा शेर्पाको भनाइ छ ।
फोहोर मैला सङ्कलन तथा व्यवस्थापन अभियानमा खुम्बियुला महिला समूहका उपभोक्ता घरधुरी, सगरमाथामा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, स्थानीय विद्यालय र इको क्लबका प्रतिनिधि सहितको सहभागिता रहेको थियो ।
खुम्बियुला महिला समूह २०७४ सालमा स्थापना भइ आफ्नो सेवा क्षेत्रभित्रको वातावरण संरक्षण, सम्बर्द्धन र सरसफाइका क्षेत्रमा क्रियाशिल रहेको छ ।

