खुम्बु पासाङल्हामू : खानेपानी योजनाको व्यवस्थापन र सुरक्षा योजना तर्जुमा तालिम

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु,१७ चैत । खुम्बु पासाङल्हामू गाउँपालिका वडा नं-३ मन्जुमा निर्माणपछि खानेपानीको व्यवस्थापन तथा खानेपानी सुरक्षा योजना तालिमको उद्घाटन गरिएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मिङ्माछिरी शेर्पाले बौद्ध परम्परा अनुसार पानसमा बत्ती बालेर सो तालिमको उद्घाटन गर्नुभएको हो । मन्जु, छुमा खानेपानी तथा अग्नि नियन्त्रण संरचना निर्माण योजना अन्तिम चरणमा पुगेको हुनाले उपभोक्ताहरुलाई लक्षित गरी तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिमको उद्देश्य खानेपानी योजनाको व्यवस्थापन र सुरक्षा योजना तर्जुमा गर्नका लागि स्थानीय उपभोक्ताको क्षमता अभिवृद्धि गर्नु रहेको हिमालयन ट्रष्ट नेपालका कार्यक्रम व्यवस्थापक लाक्पातेन्जी शेर्पाले बताउनुभयो ।

तालिममा उपभोक्ता समितिका १६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ भने तालिमको सहजीकरण हिमालयन ट्रष्ट नेपालबाट आएका प्रशिक्षकहरु अन्जन अधिकारी, बिजय श्रेष्ठ र दिपु शेर्पाले गरिरहनु भएको छ । ५ दिनसम्म सचालन हुने उक्त तालिम हिमालयन ट्रष्टको आयोजना खुम्बु पासाङल्हामु गाउँपालिकाको सहयोगमा भएको हो ।
मन्जु, छुमा खानेपानी निर्माण तथा अग्नि नियन्त्रण संरचना निर्माण योजना खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज तथा चौंरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र हिमालयन ट्रष्ट नेपालको २ करोड लगानीमा योजना निर्माण भएको खानेपानी तथा अग्नि नियन्त्रण योजना निर्माण समितिका अध्यक्ष ङिमतेन्जी शेर्पाले बताउनुभयो ।समापन कार्यक्रम हिमालयन ट्रष्ट नेपालका अध्यक्ष पासाङदावा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै ट्रष्टका अध्यक्ष शेर्पाले खानेपानी तथा अग्नि संरचना निर्माणले यस क्षेत्रका उपभोक्ताहरुको शुद्ध खानेपानी प्रयोगमा सहयोग मिल्नुका साथै गाउँघरमा हुने आगलागीका घटना नियन्त्रणका लागि मद्दत गर्ने भन्दै यसको सही सदुपयोगमा जोड दिन स्थानीय उपभोक्तालाई आग्रह गर्नुभएको थियो ।
५ दिनसम्म चलेको खानेपानीको व्यवस्थापन तथा सुरक्षा योजना तालिम अत्यन्तै प्रभावकारी र लाभदायक रहेको तालिममा सहभागीहरूले बताएको छ्न् ।

