छिटो निर्बाचन बर्तमान संकटको निकास : कांग्रेस नेता साउद

दाङ,९ चैत । कांग्रेस केन्द्रीय सदस्य एनपी साउँदले चाँडो निर्वाचन नै वर्तमान राजनीतिक संकटको निकास भएको बताएका छन्।

प्रेस युनियन दाङले लमहीमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका साउँदले राष्ट्रिय सहमति निर्माण गरी चाँडो निर्वाचनमा जानु उपयुक्त हुने बताए।
‘खण्डित जनादेश लिएर अगाडि बढ्न सकिँदैन,’ उनले भने, ‘कांग्रेसले सरकारभन्दा निर्वाचन चाहिरहेको छ, एक/डेढ वर्षभित्र निर्वाचन गराएर देशलाई निकास दिनुपर्छ।’
साउँदले मुलुक अहिले गम्भीर परिस्थितिमा रहेको भन्दै कांग्रेस र नेकपा एमालेबीच सरकारमा जाने विषयमा गठबन्धन नहुने दाबी गरे ।
‘कांग्रेस–एमालेबीच गठबन्धन हुन सक्दैन, प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका दलबीच सहमति बन्ने आधार बाँकी नै छ’, उनले भने, ‘नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाबीच गठबन्धन गरेर सरकार बनाउने विकल्प बाँकी छ तर त्यसबाट स्थिर सरकार बन्दैन ।’
कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार बनाउन सक्ने विकल्प रहे पनि स्थिर सरकार त्यहाँबाट पनि नबन्ने उनको धारणा छ।
आफूहरू पार्टीको महाधिवेशनको तयारीमा रहेको स्मरण गराउँदै केन्द्रीय सदस्य साउँदले भदौसम्म महाधिवेशन सम्पन्न गराउनु पर्ने संवैधानिक व्यवस्था रहेको बताए।

