गाउँपालिकाभित्रका बिद्यालयको शिक्षक दरबन्दी कटौती रोक्न अध्यक्ष बास्तोला सफल

डिल्ली शर्मा
सोलुखुम्बु ,९ चैत ।कृत्रिम दरबन्दी कायम गरी नेचासल्यानमा रहेका विद्यालयमा शिक्षक दरबन्दी कटौती गर्ने शिक्षा बिकास तथा मानव स्रोत बिकास केन्द्र ,शिक्षक ब्यबस्थापन समन्वय शाखा सानो ठिमीको प्रयास असफल भएको छ।

गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको पटकपटकको प्रयास र पहलकदमीका कारण सो कार्यालय गाउँपालिकामा कायम शिक्षक दरबन्दी यथावत राख्न बाध्य भएको हो।अध्यक्ष बास्तोलाका अनुसार प्राथमिक विद्यालयमा १ सय ३३ हुनु पर्नेमा १सय ७०, निम्न माध्यमिक विद्यालय ३८ हुनुपर्नेमा ४९ र माध्यमिक विद्यालयमा २४ हुनु पर्नेमा २८ र +२ सहितको माबिमा ९ हुनु पर्नेमा २ कृत्रिम दरबन्दी खडा गरि ११ वटा दरबन्दी कटौतीको प्रयास भएको थियो ।
तथ्यांक सार्बजनिक भएसंगै गाउँपालिकाको तर्फबाट अध्यक्ष बास्तोलासहितको टोलीले दरबन्दी कटौतीको बिषयमा पुनर्बिचार गर्न पटकपटक आग्रह गर्दै तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेल तथा शिक्षा तथा मानव संशाधन बिभागका अधिकारीहरूको ध्यानाकर्षण गराउनुभएको थियो।आफ्नो सो प्रयासमा संघीय सांसद हेमकुमार राई ‘सुरबीर’ र प्रदेश सांसदद्वय बुद्धिकुमार राजभण्डारी र उत्तम कुमार बस्नेतको समेत सकारात्मक सहयोग रहेको भन्दै वहाँले धन्यवाद व्यक्त गर्नुभएको छ। गाउँपालिका शिक्षा समितिले तीन पटक निर्णयसहित पालिकाभित्रका विद्यालयका शिक्षकहरुको यथार्थ तथ्यांकसहितको परीपत्र गरेको थियो,-‘यसैको परिणामस्वरूप स्थानीय तहको तहगत रुपमा दरबन्दी बितरण फरक परेको भनि गत माघ २६ को शिक्षा तथा मानव स्रोत बिकास केन्द्र ,सानो ठिमीको परिपत्र र फागुन ५ गते सम्पन्न जिल्ला शिक्षा समितिको बैठकले नेचासल्यानको दरबन्दी नकाटिने निर्णय भएको जानकारी प्राप्त भएको छ,- पालिका अध्यक्ष बास्तोलाले रहस्यखबरलाइ जानकारी दिनुभयो ।
केन्द्रले २०७४ को विद्यार्थी संख्याका आधारमा भन्दै नेचासल्यान गाउँपालिका आधारभूत विद्यालय तहका ११ वटा दरबन्दी कटौती गरि तिनलाइ महाकुलुङ गाउँपालिका पुर्याएको थियो।केन्द्रको परिपत्र अनुसारको मापदण्डका आधारमा दरबन्दी महाकुलुङ पठाउंदा अधिकांश महिला शिक्षक पर्ने भएका कारण पनि उनीहरूमाथि अन्याय हुने ठानेर गाउँपालिकाले यसलाई रोक्ने प्रयास गरेको थियो, त्यो प्रयास सफल भएको छ, अध्यक्ष बास्तोलाले बताउँनुभयो।
स्मरणीय के छ भने शिक्षा मन्त्रालय अन्तरगत रहेको केन्द्रले नेचासल्यानमा कटौती गरेका दरबन्दीहरुको तलब साउनदेखि नै महाकुलुङ पठाइरहे पनि दरबन्दी कटौती भएका शिक्षकहरुलाइ गाउँपालिकाकै तलब खुवाएर अध्यक्ष बास्तोला दरबन्दी यथावत कायम राख्ने अभियानमा लाग्नुभएको थियो।
बिभागको परिपत्र अनुसार नेचासल्यानमा कटौती शिक्षक दरबन्दी यथावत राखिएपनि सोलुदुधकुण्ड नगरपालिका भित्रका विद्यालयबाट ९ वटा दरबन्दी कटौती गरिएको छ।कटौती दरबन्दी मध्य ४ जना महाकुलुङ,४ जना माप्यदुधकोशी र एकजना सोताङमा कायम गरिएको छ।

