राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमणको तयारी पूरा

काठमाडौं, ८ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुन लागेको यही चैत ९ र १० गतेको बङ्गलादेशको राजकीय भ्रमणको तयारी पूरा भएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत ढाका प्रस्थान गर्नेछिन् ।

उनी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछिन् । त्यहाँ पुग्दा उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रले स्वागत गर्नेछन् । राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान गरिनेछ । सो पश्चात् उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलीका लागि पुग्नेछिन् । उनले सोमबार नै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिना लगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

