वाइसीएलले जेठ २८ गतेदेखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग(वाईसीएल) ब्युँतिएको छ। यसअघि एमाले–माओवादी एकीकृत पार्टी हुँदा वाईसीएलकाे नाम परिवर्तन गरेर नेपाल राष्ट्रिय युवा संघ राखिएको थियो। फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि ऋषि कट्टेल नेतृत्वको नेकपालाई बैधानिकता दिएपछि एमाले–माओवादी ब्युँतिएको थियाे।

वाईसीएल नेपालको चौथो पूर्ण केन्द्रीय कमिटी बैठक बुधबार र बिहीबार बसेर पुरानै संगठन ब्युँताउने निर्णय भएको संगठनका सचिव पुष्प ओलीले बताए। सोही बैठकले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय भएको छ। राष्ट्रिय भेलाले विधान संशोधनसहित नीति तथा कार्यक्रम बनाउने ओलीले बताए। ‘सर्वोच्च अदालतको फैसलापछि एमाले माओवादी पुरानै पार्टी ब्युँताएपछि वाईसिएल ब्युँतिएका हौ’ ओलीले भने,‘वाईसीएल ब्युँतिएपनि यसले पुरानै तरिकाले नभएर नयाँ ढंगले युवाको मन जित्नेगरी काम गर्ने छौं।’

