बैठकमा आउन ओलीको आह्वान

प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूलाई सार्वजनिक कार्यक्रममार्फत बैठकमा आउन आह्वान गरेका छन् ।

‘प्रशस्त समय रहोस् भनेर ७ चैतलाई बैठक बोलाएको छु । यत्रोविधि टेलिभिजनले खिचेको छ, लाइभ दिइराखेको होला । सुनिनँ भन्न पाइनेछैन । ७ चैतमा केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला,’ आफ्नो समूहको अनेमसंघको कार्यक्रममा शनिबार ओलीले भने, ‘म सबैले सुन्ने गरी भन्न चाहन्छु, ७ गतेको बैठकमा आउनुहोला ।’
प्रधानमन्त्री ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा नआएको भन्दै नेपाल–खनाल पक्षलाई व्यंग्य पनि गरे । ‘हिजो (शुक्रबार) केन्द्रीय कमिटीको बैठक बस्यौँ, उहाँहरू आइपुग्नुभएन । पहिलेदेखि नै उहाँहरू आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ, पेरिसडाँडामा रुवाबासी गर्दै अदालतको फैसलापछि बिदावारी भएको थिए रे । अर्याल होटेलसम्म आइपुग्नुभएको छ, त्यहाँ एक–दुई रात वास बस्नुभएको भन्ने सुनियो । बैठकमा आइपुग्नुभएको छैन,’ उनले भने । नेपाल–खनाल पक्षले भने बैठकको खबरै नगरी एकलौटी निर्णय गरेको दाबी गर्दै आएको छ ।
प्रधानमन्त्री ओलीले आफूलाई प्रचण्डसँग मिलेर इतर पक्षले कारबाही गरेकोमा पनि आक्रोश पोखे । ‘बाटाबाटामा अध्यक्षको पगरी बाँडेर हिँड्ने । म त अध्यक्ष भएँ पनि भने बाटाबाट । तपाईंहरूलाई अचम्म लाग्दैन ? मलाई त अध्यक्षबाट मात्र होइन, साधारण सदस्यबाट पनि निकालियो । यिनले सक्ने हो भने के गर्दा रहेछन्, देख्नुभयो नि !’ उनले भने ।
‘निर्वाचन २० महिनापछि’
प्रधानमन्त्री ओलीले संसद्ले पूर्ण कार्यकाल काम गर्ने र मुलुक छिट्टै निर्वाचनमा नजाने संकेत गरेका छन् । संसद् विघटन गरेर चुनाव घोषणा गर्ने निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याएपछि पनि चुनाव गराउने आफ्नो निर्णय सही भएको जिकिर गर्दै आएका उनले पहिलोपटक त्यस्तो संकेत गरेका हुन् ।
‘०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झन्डै दुईतिहाइ बहुमतका साथ सिंहदरबार फर्केँ । अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ । २० महिनापछि फेरि यो सूर्य चिह्नधारी नेकपा एमाले दुईतिहाइ बहुमतका साथ सिंहदरबारको मूलगेटबाट भित्र पस्छ,’ ओलीको भनाइ थियो ।
नयाँ सरकार गठनबारे जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीसहित कांग्रेस र माओवादी केन्द्रसँग समानान्तर संवाद चलाइरहेका वेला आएको उनको पछिल्लो अभिव्यक्ति अर्थपूर्ण छ । यसअघि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले देश ‘अर्ली इलेक्सन’तिर जान सक्ने संकेत गर्दै आएका थिए । प्रधानमन्त्री ओलीले भने पहिलोपटक देशमा तत्काल चुनावको सम्भावना नरहेको संकेत गरेका हुन् ।

