माधव समूहको केन्द्रीय समिति बैठक बस्दै, के गर्ला निर्णय ?



काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी ढंगले पार्टीमा जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको माधव नेपाल समूहले शनिबार केन्द्रीय समिति र सांसदहरुको भेला बोलाएको छ ।

सो भेलाअघि नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । राजधानीको एक होटलमा जारी बैठकले निकाल्ने निष्कर्षको आधारमा भेलाबाट थप निर्णय गरेर अघि बढ्ने तयारी सो समूहको छ ।
शुक्रबार बैठक राखेर ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरूको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गरेका थिए ।

यस्तै माओवादीमा नफर्किएका रामबहादुर थापा बादल, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई ओलीले केन्द्रीय कमिटीमा ल्याउनुका साथै जिम्मेवारी समेत दिएका छन् ।

ओलीको यो निर्णयपछि रुष्ट बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ । ओलीले पार्टी फुटाउने उद्देश्यका साथ शुक्रबार कदम चालेको भन्दै नेपाल समूहले निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्