जसपा आफैंले प्रधानमन्त्रीको दावी गर्ने !



काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकमा सांसदहरूले जसपाबाटै प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्नुपर्ने आवाज उठाएका छन्।

प्रतिनिधिसभाको पहिलो दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारका लागि जसपासँग ‘लबिङ’ गरिरहेका बेला शुक्रवार बसेको उक्त पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले उक्त आवाज उठाएका हुन्।सांसद चन्दा चौधरीले मधेसमा सत्ता प्रभावकारी ढङ्‍गले सञ्चालन गर्न सक्ने नेता भएको भन्दै अब त्यसबारे अन्य दलले पनि सोच्नुपर्ने बताइन्।

बैठकमा पार्टीको विधानमा मिलाउन बाँकी रहेका पक्षहरूलाई मिलाउनेबारे छलफल भएकोसमेत उनले बताइन्। उनका अनुसार टुङ्‍गिन भने बाँकी छ।सरकारमा जान जसपा तयार हो? भन्‍ने प्रश्नमा उनले सरकारमा अहिले नै जाने/नजाने भन्‍ने विषय निर्णय नभएको बताएकी छिन्।

पार्टीले उठाएको तीनबुँदे माग पूरा गर्ने सर्त भए सरकारमा नजाने भन्‍ने नरहेको पनि उनको भनाइ छ।

जसपाको एक जना अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो तीनबुँदे माग पूरा हुन्छ भने ओली सरकारमा जाने मनस्थितिमा छन्।

सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव भने प्रतिनिधिसभा विघटन गर्ने दलको अध्यक्षको नेतृत्वमा गठन हुने सरकारमा जान नहुने पक्षमा छन्।

यसरी सरकारमा जाने/नजाने भन्‍नेमा जसपा विभाजित छ।

उक्त पार्टीको प्रतिनिधिसभामा सांसद सङ्ख्याचाहिँ ३४ हो। तर, सांसदहरू रेशमलाल चौधरी र हरिनारायण रौनियार निलम्बनमा छन्। यसले गर्दा प्रतिनिधिसभामा ३२ जना सांसद मात्रै छन्।

एमालेलाई जसपा एक्लैको समर्थन भए सरकार गठनका लागि स्पष्ट बहमुत पुग्छ। एमालेको प्रतिनिधिसभामा एक सय २० सांसद छन्।

प्रतिक्रिया दिनुहोस्