नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएको निर्बाचन आयोग को पत्र संसद सचिवालयमा

काठमाडौं,२५ फाल्गुन ।निर्वाचन आयोगले संघीय संसद्लाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेजपछि साबिकका नेकपा एमाले र माओवादी केन्द्र नै कायम रहेको जानकारी दिएको छ।

आयोगको मंगलबार बसेको बैठकले २३ फागुनको सर्वोच्च अदालतको आदेश बमोजिम नेकपाको दर्ता खारेजी भएर दुई दल एकीकरण पूर्वको अवस्थामा पुगेको जानकारी संघीय संसद्, सात वटै प्रदेश सभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई दिने निर्णय गरेको हो।
ऋषिराम कट्टेलले आफूले नेतृत्व गरेको पार्टीको नाम एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको दललाई दिएको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्च अदालतले २३ फागुनमा फैसला गर्दै नेकपा नाम कट्टेल नेतृत्वको दललाई दिँदै एमाले र माओवादी केन्द्रलाई एकीकरण पूर्वको अवस्थामा पुर्याइदिएको थियो।
उक्त फैसला कार्यान्वयन गर्न आयोगको आज बसेको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग दलका रूपमा कायम रहने जानकारी ती दलका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। सर्वोच्च अदालतले दुई दल एकीकरण पूर्वको अवस्थामा फर्काइदिएपछि पुनः एकीकरण गर्न चाहेमा ‘कानून बमोजिम प्रक्रिया पूरा गरेर एकीकरण गर्न आउनू’ भन्ने सूचना दिन पनि निर्वाचन आयोगलाई आदेश दिएको थियो।
त्यसै बमोजिम निर्वाचन आयोगले पुनः एकीकरण गर्ने भएमा नयाँ नाम र निर्वाचन चिह्नसहित १५ दिनभित्र निवेदन लिएर आउन भनेको छ। एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा पार्टी दर्ता भएपछि निर्वाचन आयोगमा क्रमशः सन्ध्या तिवारी र गोपाल किराँतीको नाममा एमाले र माओवादी केन्द्र नामका पार्टी दर्ता थिए।
अब ओली र दाहालले नेतृत्व गरेको एमाले र माओवादी केन्द्र एकीकरण पूर्वको अवस्थामा फर्किएपछि तिवारी र किराँतीको नाममा रहेका पार्टीहरूको नाम पनि खारेज भएको छ। निर्वाचन आयोगले तिवारी र किराँतीलाई नयाँ नाम र चिह्नसहित आयोगमा आउन पनि जानकारी गराउने निर्णय गरेको छ।

