सूर्य चिन्हबाट चुनाव लडेकाले नारायणकाजी एमाले सांसद हुन : पौडेल



काठमाडौं,२४ फाल्गुन । नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले प्रचण्ड-माधव नेपाल समूहका प्रवक्ता समेत रहेका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ एमालेको सांसद हुने दाबी गरेका छन्।

सर्वोच्च अदालतले आइतबार नेकपाको नामसम्बन्धी विवादमा फैसला सुनाएपछि साविककै एमाले र माओवादी केन्द्र ब्युतिँएका छन्।

यो सँगै अब एमालेका सांसद एमालेतर्फ र माओवादी केन्द्रका सांसद माओवादी केन्द्र तर्फ लाग्नुपर्ने अवस्था सिर्जना भएको छ।

तर, नेकपा एक भएको बेला रिक्त स्थानमा भएको उपनिर्वाचनमा सो पार्टीबाट चुनाव जितेकाहरु कुन पार्टीको हुन भन्नेमा अन्यौलता छ।

नेकपाको तर्फबाट कास्की क्षेत्र नं २ बाट विद्या भट्टराईले प्रतिनिधिसभा सदस्यको चुनाव जितेकी थिइन्। यस्तै, प्रचण्ड माधव पक्षका प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ पनि नेकपाको टिकटबाट राष्ट्रियसभा सांसद बनेका थिए।

अदालतको फैसलापछि अब उनीहरु कुन पक्षको सांसद हुने भन्ने प्रश्न उठिरहेका बेला महासचिव पौडलले सूर्य चिन्ह लिएर चुनावमा गएकाले एमालेकै सांसद हुने बताएका हुन।

महासचिव पौडलले भन्छन्, ‘अदालतको फैसलाअनुसार नारायणकाजी श्रेष्ठ पनि नेकपा एमालेकै सांसद हो । किनभने उहाँले पनि सूर्य चिह्न लिएरै लड्नुभएको छ ।’

तत्कालिन अवस्थामा केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द बीच एकता हुँदा पार्टीको नाम नेकपा र पार्टीको चुनाव चिन्ह सूर्य र हँसिया हथौडा अंकित झण्डा रहने गरी राखिएको थियो।

अदालतको फैसलाको अर्थ सूर्य चिन्ह एमालेले पाएको छ भने माओवादी केन्द्रका लागि गोलाकार भित्रको हसिँया हतौडा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्