ढुक्क भएर कोरोनाबिरुद्द्को खोप लगाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएका छन् । नेपाल सरकारले आजदेखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उनकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर खोप लगाएको उनको सचिवालयले जनाएको छ ।

अस्पतालमा कार्यरत नर्स सिर्जना भूमीले खोप लगाइदिएकी थिइन् । खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूलाई सँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सहभागी हुन आग्रह गरे ।
“ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ,” प्रधानमन्त्रीको भनाई थियो । खोप लगाएपछि केही बेर शरीरमा एलर्जी वा अन्य कैफियत देखिन सक्ने भएकोले प्रधानमन्त्रीले केही बेर अस्पतालमा बसेका थिए । त्यसपछि संचारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्रीले कोभिड १९ विरुद्धको लडाँई अब खोपको चरणमा पुगेको बताए । “आत्तिनु पर्दैन, यसबाट अहिलेसम्म कुनै त्यस्तो ठूलो नोक्सान भएको छैन,” प्रधानमन्त्रीको भनाई थियो ।

