ओली समूहमा ११५ सांसद,अबिश्वास प्रस्ताव आए बिरुद्धमा लाग्न ओलीको निर्देशन

काठमाडौं,२२ फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहको संसदीय दलको बैठक सकिएको छ।

भोलि बोलाइएको प्रतिनिधिसभाको बैठकलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका थिए। प्रतिनिधिसभा विघटनपछि असन्तुष्ट रहँदै आएका प्रचण्ड- माधव नेपाल समूहले भोली संसदमा अविश्वासको प्रस्ताव लैजाने तयारी गरिरहेकाले त्यसको बिरुद्धमा उभिन प्रधानमन्त्री ओलीले उपस्थित सासंदहरुलाई निर्देशन दिएका थिए।
‘भोलि असन्तुष्ट पक्षले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने सुनेका छौं। त्यसैको विषयमा छलफल भएको थियो। हाम्रो पक्षमा बहुमत सांसद छन्। अविश्वासको प्रस्ताव आए प्रधानमन्त्रीले विश्वासको मत पाउनु हुनेछ,’ उपनेता सुभाष नेवाङले भने।
अहिले नेकपा भित्र ओली समुह र प्रचण्ड- माधव नेपाल समुहले पार्टीभित्र सांसदको आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै आएका छन्।
आजको बैठकमा पनि १ सय १५ जना सांसद सहभागी भएको नेता नेम्वाङले दावी गरे। भोलिको बैठकको लागि जिल्ला बाहिर रहेका सांसदलाई समेत अनिवार्य उपस्थित हुन आह्वान गरिएको थियो।

