नवनिर्मित भवन उद्घाटन



खोटाङ, २१ फागुन । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा अवस्थित कालिका माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । माविको ५४ औं वार्षिक उत्सवको अवसरमा दुई तले आठ कोठे पक्की भवनको उद्घाटन गरिएको हो ।

तत्कालिन जिल्ला शिक्षा कार्यालयको ५९ लाख र विद्धालय व्यवस्थापन समिति अध्यक्ष तथा बाकाचोलका वडाध्यक्ष सन्तवीर तामाङको व्यक्तिगत ५७ लाख लगानीमा नवनिर्मित भवनको आईतबार ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले उद्घाटन गरेका हुन् ।

नवनिर्मित भवनमा कार्यालय, कम्प्युटर, इ–लाईब्रेरी, पुस्तकालय र कक्षा कोठाहरु सञ्चालन हुनेछ । विव्यास अध्यक्ष तथा बाकाचोलका वडाध्यक्ष तामाङको अध्यक्षतामा भएको वार्षिक उत्सव तथा भवन उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष निरौला, गाउँपालिकाका शिक्षा शाखा संयोजक विनेश कुमार श्रेष्ठ, वडा सदस्य लगायतको उपस्थिती थियो।

इ–लाईब्रेरीको उद्घाटन
वार्षिक उत्सवको अवसरमा विद्यालयको नवनिर्मित भवन उद्घाटनसँगै सोही भवनमा स्थापना गरिएको इ–लाईब्रेरीको पनि उद्घाटन गरिएको छ । इ–लाईब्रेरीको गाउँपालिका अध्यक्ष निरौलाले उद्घाटन गरेका हुन् ।

इ–लाईब्रेरीमा कक्षा १ देखी कक्षा १० सम्मको पाठ्यक्रमसहित सात हजार ५६५ वटा पुस्तक संग्रह, दुई हजार ८१९ वटा अडियो संग्रह, एक हजार ५११ वटा भिडियो संग्रह र चार हजार ८७ वटा लेख संग्रह समाबेश भएको सहकर्मी खेमराज पुरीले जानकारी दिए । राईका अनुसार इ–लाईब्रेरीमा विद्यार्थीले शिक्षक नभएको बेला पनि आफैले मन परेको विषय, पढ्न, सुन्न, हेर्न सक्नेछ ।

गाउँपालिकाले यसअघि त्रिभुवन मावि ऐसेलुखर्क, सिम्ले मावि जलेश्वरी, शिशु मावि महेश्वरी र माक्पा मावि माक्पामा इ–लाईब्रेरी सुरुवात गरिसकेको छ । गाउँपालिकाको आठै वटा माविमा इ–लाईब्रेरी स्थापना गरिने गाउँपालिका अध्यक्ष निरौलाले बताए । शिक्षा क्षेत्रमा गाउँपालिकाले निक्कै फड्को मारेको गाउँपालिका अध्यक्षको दावी छ । गाउँपालिकाले प्रत्येक विद्यालयमा इ–हाजिरी जडान र धुलोमुक्त कक्षाकोठा बनाइरहेको छ ।

भूपू प्रअ, शिक्षक र जग्गादातालाई अभिनन्दन
वार्षिक उत्सवको अवसरमा विद्यालयलाई योगदान गर्ने उक्त विद्यालयका भूपू प्रधानाध्यापक, शिक्षक र जग्गादाताहरुलाई अभिनन्दन गरिएको छ । उनीहरुलाई गाउँपालिकाका अध्यक्ष निरौला, शिक्षा शाखा संयोक श्रेष्ठले दोसल्ला ओढाई अभिनन्दन पत्र प्रदान गरेका थिए ।

विधार्थीलाई झोला र कापी
वार्षिक उत्सवको अवसरमा शिशु कक्षादेखी कक्षा ५ सम्मका विद्यार्थीलाई दखमलु देउराली इन्भेष्ट प्रालिले झोला र कापी वितरण गरेको छ । प्रालिका कोषाध्यक्ष शान्तीमाया तामाङले विद्यार्थीहरुलाई झोला, कापी वितरण गरेकी हुन् । यस्तै, गाउँपालिका अध्यक्ष निरौलाले पनि कक्षा ६ देखी कक्षा १० सम्मका विद्यार्थीलाई कापी प्रदान गरेको गाउँपालिकाका आइटी अफिसर सिजन राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्