भ्रस्टाचारको अभियोगमा फ्रान्सका पूर्ब राष्ट्रपतिलाई तीन बर्ष जेल सजाय

काठमाडौं,१७ फाल्गुन ।फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ। सार्कोजीसँगै उनका दुईजना सहयोगीलाई पनि सो सजाय तोकिएको छ।

त्यहाँका एक म्याजिस्ट्रेट गिलबर्ट एजिबर्टलाई मोनाकोमा आकर्षक जागिर प्रस्ताव गरी प्रभावित पार्न खोजेको अभियोगमा ६६ वर्षीय सार्कोजीलाई सो सजाय सुनाइएको हो।
सार्कोजीले उनको पार्टीबारे भइरहेको एक फौजदारी छानविनसम्बन्धी सूचना दिन आग्रह गर्दै त्यसवापत् सो जागिर प्रस्ताव गरेका हुन्। उनका पूर्ववकिल थियरी हर्जोग र एजिबर्टलाई पनि सोहि सजाय सुनाइएको छ। सो सजाय सार्कोजीले भने आफ्नै घरमा बिताउन पाउनेछन्। उनलाई एउटा इलेक्ट्रोनिक ट्याग लगाइदिएर घरमै जेल सजाय भुक्तान गर्न पाउने छुट दिइएको न्यायाधीशले बताएका छन्।
पूर्वराष्ट्रपति सार्कोजीलाई सजाय दिइएको यो फैसलालाई त्यहाँको न्यायप्रणालीमा एक कोशेढुंगाको रुपमा लिइएको छ। सार्कोजीलाई सन् २०१२ को चुनावमा अवैध ढंगले अत्यधिक खर्च गरेको आरोपमा अर्को मुद्दा पनि खेपिरहेका छन्। अझै पनि दक्षिणपन्थी खेमामा लोकप्रिय रहेका सार्कोजी सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति थिए। २०१२ को निर्वाचनमा उनी पराजित भएका हुन्।

