आजबाट सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कोइरालाको अपिल



काठमाडौं, १४ असोज । नेपाली कांग्रेसको संस्थापनइतर समूहले गठन गरेको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले आजबाट सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई अपिल गरेका छन्।

कोइरालाले बुधबार अपिल जारी गर्दै वडा अधिवेशनलाई पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्वपूर्ण चरणका रूपमा उल्लेख गरेका छन्।उनले वडा अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टी संगठनलाई नयाँ ऊर्जा दिने, कार्यकर्ताबीचको एकतालाई थप मजबुत बनाउने र नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने महत्वपूर्ण अवसर भएको बताएका छन्।

व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य, लोकतान्त्रिक मूल्य र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अधिवेशन सफल बनाउन सबै साथीहरू एकताबद्ध भएर अघि बढ्न कोइरालाले आग्रह गरेका छन्।

वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउँदै १५औँ महाधिवेशनलाई उत्साह, एकता र लोकतान्त्रिक अभ्यासको सशक्त उत्सवका रूपमा सम्पन्न गर्न सबैको सक्रिय भूमिका अपरिहार्य रहेको उनको भनाइ छ।

‘यस महत्वपूर्ण अवसरमा देशभरका सम्पूर्ण साथीहरूलाई वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार र जिम्मेवारी निर्वाह गर्न हार्दिक अपिल गर्दछु,’ कोइरालाले अपिलमा भनेका छन्।

संस्थापनइतर समूहले असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। केन्द्रीय महाधिवेशन भने मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्