मधेसमा तस्करी रोक्न सशस्त्र प्रहरी सक्रिय,तीन महिनामा पौने २८ करोडको अवैध सामान बरामद




मधेस प्रदेश ब्युरो,१३ असोज । सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो तीन महिनाको अवधिमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट झण्डै २७ करोड ८५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण, लागूऔषध ओसारपसार रोकथाम तथा विपद् व्यवस्थापनमा सक्रियता बढाएको सशस्त्र प्रहरीले अवैध सामान ओसारपसारमा प्रयोग भएका १० करोड २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधनसमेत नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरी बल,नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय,अन्तर्गत पर्ने मधेश प्रदेशमा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले बाहिनीपतिको कमाण्ड सम्हालेयता सीमा सुरक्षा तथा अवैध गतिविधि नियन्त्रणमा विशेष सक्रियता बढाइएको छ। यस अवधिमा किराना सामान,लत्ताकपडा,सुर्तीजन्य पदार्थ,इलेक्ट्रोनिक्स,हार्डवेयर,मोटरपार्टस् तथा कस्मेटिकलगायतका विभिन्न अवैध सामान बरामद गरिएको हो।

सशस्त्र प्रहरीले सोही अवधिमा मधेश प्रदेशका विभिन्न स्थानबाट ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको एक हजार एक सय क्यूफिट काठ र १०२ ग्राम चाँदीसमेत बरामद गरेको छ। अवैध गतिविधिमा संलग्न रहेको आरोपमा ८४ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

मधेश प्रदेशस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार नियन्त्रणमा समेत सशस्त्र प्रहरीले कडाइ गरेको छ। पछिल्लो तीन महिनामा १९३ ग्राम ब्राउन सुगर, नौ किलो पाँच सय ग्राम चरेश र एक हजार ६ सय ६ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ। त्यसैगरी,विभिन्न स्थानबाट तीनवटा कटुवा पेस्तोल, दुई थान सिक्सर, दुई थान भरुवा बन्दुक तथा तिनमा प्रयोग हुने गोली र बारुदसमेत बरामद गरिएको छ।

सीमा क्षेत्रमा मानव बेचबिखन नियन्त्रणलाई समेत प्राथमिकतामा राखेको सशस्त्र प्रहरीले पछिल्लो तीन महिनामा मानव बेचबिखनको आशंकामा २९ महिला र ३० पुरुष गरी ५९ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको छ। नेपाल–भारत खुला सीमाबाट हुन सक्ने मानव बेचबिखन, अवैध ओसारपसार तथा अन्य सीमापार अपराध नियन्त्रणका लागि सीमामा तैनाथ सशस्त्र प्रहरीका इकाइहरूलाई थप सक्रिय बनाइएको छ।

सशस्त्र प्रहरीले मधेश प्रदेशका सीमावर्ती क्षेत्रमा सीमा सुरक्षासँगै सीमा स्तम्भहरूको संरक्षण, मर्मतसम्भार तथा अभिलेखीकरणलाई पनि प्राथमिकता दिएको छ। सीमा चिह्नहरूको डिजिटल रेकर्ड तयार पार्ने, तिनको भौतिक अवस्थाको विवरण अद्यावधिक गर्ने तथा भारतीय समकक्षी सुरक्षा निकायसँग समन्वय गरी सीमा पिलरहरूको मर्मतसम्भार गर्ने कार्य भइरहेको छ। दशगजा क्षेत्रको सुरक्षा, सीमा अतिक्रमण रोकथाम तथा अतिक्रमित क्षेत्र खाली गराउने कार्यमा समेत भारतीय सुरक्षा निकायसँग निरन्तर समन्वय गर्दै आएको सशस्त्र प्रहरीले जनाएको छ।

मधेश प्रदेशका विभिन्न नदी तथा नदीजन्य पदार्थ उत्खनन हुने क्षेत्रमा समेत सशस्त्र प्रहरीले निगरानी र कारबाही बढाएको छ। पछिल्लो तीन महिनाको अवधिमा अवैध उत्खननमा संलग्न २२ वटा ट्याक्टर, २६ वटा टिपर र दुईवटा जेसीबी गरी कुल ५० वटा सवारीसाधन तथा उपकरण नियन्त्रणमा लिइएको छ।

सीमा सुरक्षा र अपराध नियन्त्रणसँगै सशस्त्र प्रहरीले मधेश प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार कार्यमा समेत सक्रिय भूमिका निर्वाह गरेको छ। मनसुन सुरु भएयता विपद्मा परेका १५ पुरुष र १५ महिला गरी ३० जनाको सकुशल उद्धार गरिएको छ। त्यसैगरी, विभिन्न घटनामा घाइते भएका २११ पुरुष र ६३ महिला गरी कुल २७४ जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइएको छ।

सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले सूचनामा आधारित विशेष सुरक्षा रणनीति अपनाएको छ। अवैध सामान बरामद तथा चोरी–तस्करी नियन्त्रणका लागि नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयमा वरिष्ठ अधिकृतको कमाण्डमा विशेष स्ट्राइकिङ टिम परिचालन गरिएको छ। त्यसैगरी, सीमावर्ती जिल्लाका गणहरूमा सीमा इलाकाको नियमित अनुगमन तथा निगरानीका लागि छुट्टै जिम्मेवारीसहित अधिकृत खटाइएको छ।

साम्प्रदायिक प्रदर्शन, बलात्कारका घटना, सीमापार अपराध, विपद् व्यवस्थापन तथा लागूऔषध नियन्त्रणलगायतका क्षेत्रमा अन्य सुरक्षा निकाय र स्थानीय सरकारसँग समन्वय गरी काम भइरहेको उनले बताएका छन्। यस्ता संवेदनशील घटनामा सुरक्षा परिचालन गर्दा थप संयम अपनाउने तथा संगठनको नीति निर्देशनलाई अक्षरशः पालना गर्ने विषयमा समेत जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस्