प्रतिनिसभा सदस्य कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिको चुनावी मैदानमा,संगठनलाई अझ बलियो र एकताबद्द बनाउने प्रतिबद्धता
सोलुखुम्बु,१३ असोज। नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्कीले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बुबाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। लामो राजनीतिक तथा संगठनात्मक अनुभव भएका कार्की पार्टीलाई थप सशक्त,एकताबद्ध र जनमुखी बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका हुन्।

कार्की २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।२०३५ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका कार्की २०४७ सालमा नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलन प्रतिनिधि बनेका थिए। सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिको महासचिव तथा पार्टीको जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालिसकेका उनी पार्टीको १४औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि थिए।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बुका ५२ वटै वडामा अधिवेशन सम्पन्न भइसकेको छ। पालिका अधिवेशनबाट समेत नयाँ नेतृत्व चयन भएसँगै क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको छ।
उनले पार्टीभित्रको एकता,संगठन सुदृढीकरण तथा सोलुखुम्बुको समग्र विकासलाई आफ्नो प्राथमिकताका रूपमा अघि सारेका छन्।‘संगठनलाई अझ बलियो र एकताबद्ध बनाउँदै सोलुखुम्बुको विकास र जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धतासहित यहाँहरूको अमूल्य मत,माया र साथका लागि हार्दिक अनुरोध गर्दछु,’कार्कीले आफ्नो उम्मेदवारीबारे सार्वजनिक गरेको सन्देशमा भनेका छन्।
कार्कीले नेपाली कांग्रेस सोलुखुम्बुका सम्पूर्ण पालिका सभापति, वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई हार्दिक बधाई दिँदै महाधिवेशन प्रतिनिधिको निर्वाचनमा आफ्नो पक्षमा अमूल्य मत,माया,साथ र समर्थनका लागि अपिल गरेका छन्।सोलुखुम्बुमा कांग्रेसको क्षेत्रीय अधिबेशनसंगै महाधिवेशन प्रतिनिधि चयनका लागि आज निर्बाचन हुंदैछ।




