१ अर्ब ३४ करोड ७८ लाखभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न एक युवक पक्राउ



काठमाडौँ,३१ भदौ । प्रहरीले रु. १ अर्ब ३४ करोड ७८ लाखभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाका एक युवकलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजय कुमार मुखियालाई पक्राउ गरेको हो।

मुखियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतबाट अनुमति लिएर प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा उनलाई मंगलबार साँझ शहीदनगर नगरपालिका–४ बाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान तथा वित्तीय कारोबारको विश्लेषण गरिएको थियो।

अनुसन्धानका क्रममा मुखियाले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताको प्रयोग गरी रु. एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको पुष्टि भएको सीआईबीले जनाएको छ।

पक्राउ परेका मुखियामाथि अवैध हुण्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्