त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धार प्रयास जारी
काठमाडौं,१४ भदौ । त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि विशेष टोली निरन्तर परिचालित रहेको सेनाले जनाएको छ।

गत भदौ १२ गतेदेखि अस्थायी बेस क्याम्प स्थापना गरी खटिएको विशेषज्ञसहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर र हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरी सुरुङको ‘क्राउन हेड’ फेला पारेको छ।
सुरुङमा बनाइएको प्वालबाट गरिएको अवलोकनका क्रममा करिब सात मिटर व्यासको सुरुङभित्र पानीको सतह निकै माथिसम्म रहेको प्राविधिक टोलीले जनाएको छ। सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन तथा उद्धारका लागि प्राविधिक टोलीले थप प्रयास जारी राखेको छ।
बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित विभिन्न जिल्लामा नेपाली सेनाले ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गरेको छ। सेनाका अनुसार हालसम्म करिब आठ हजार पाँच सयभन्दा बढी सैनिक जनशक्ति अन्य सरोकारवाला निकायसँगको समन्वयमा खोज, उद्धार तथा राहत कार्यमा सक्रिय छन्।
सेनाले प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा उद्धार, राहत तथा आवश्यक सहयोगका कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

