खोटाङको दिप्रुङ चुइचुम्मा काठ लोड गर्ने क्रममा किचिएर एकजनाको मृत्यु
खोटाङ,२९ साउन। जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार कोलिया काठ लोड गर्नेक्रममा सोही काठले किचिएर एकजनाको मृत्यु भएको छ। मृत्युु हुनेमा धनकुटाको पाख्रिवास नगरपालिका–३ पाख्रीवासका ३५ वर्षीय लिला मगर रहेको प्रहरीले जनाएको छ ।

को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको गोलिया काठ लोड गरेर डोरीले बाँध्नेक्रममा चिप्लिएर गोलियासँगै लडेका मगरलाई काठले किचेर मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक निराजन बस्नेतले जनाउनुभयो । घटनापछि ट्याक्टरसहित ट्याक्टर चालक धनकुटाको महालक्ष्मी नगरपालिका–३ चानुवाडाँडाका १९ वर्षीय सुनिल गुरुङलाई स्थानीय प्रहरी चौकी छितापोखरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरीक्षक नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जनाउनुभयो । घटनास्थल सदरमुकाम दिक्तेलबाट टाढा भएकाले इलाका प्रहरी कार्यालय खोटाङबजारबाट अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।।

