एमबिएस प्रथम सत्रको प्रश्नपत्र आउट गरेको आरोपमा दुई जना पक्राउ



काठमाडौँ,१० साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र आउट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

गत साउन ८ गते परीक्षा सञ्चालन भइरहेकै समयमा प्रश्नपत्र आउट गरेको आरोपमा दुई जनालाई साइबर ब्युरोले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको नाम भने खुलाइएको छैन।

यता, उक्त घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।व्यवस्थापन संकाय डीन कार्यालयअन्तर्गतको परीक्षा सञ्चालन समितिले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको जनाएको हो।

डीन कार्यालयले जारी गरेको विज्ञप्तिमा परीक्षा सञ्चालनकै क्रममा प्रश्नपत्र विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक हुँदा परीक्षाको मर्यादा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्दै यस घटनाप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्